ओली नेतृत्वको सरकार संकटमा,काँग्रेस नेताहरू नै विरोधमा
काठमाडौं।दुइ ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार अहिले चौतर्फी आलोचनाको घेरामा पर्न थालेकाे छ। सत्तारुढ दल नेपाली कांग्रेस सरकारलाई आफू अनुकुल बनाउने प्रयत्नमा उत्रिएको छ। कांग्रेसले सरकारको नेतृत्व फेर्ने विषयको तरवार देखाएर आफू अनुकुलका निर्णयमा जान सकिने गरि रणनीति तय मात्रै गरेको छैन्, आवश्यक परे सरकार नै फर्ने बाटोमा अग्रसरता लिएको देखिन्छ।
प्रधानमन्त्री केपी ओली कांग्रेससँगको गठबन्धनमा विश्वस्त हुन सकेका छैनन्। ओलीले पटक–पटक गठबन्धन नफेरिने दाबी गर्नु परिरहेको छ भने कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्त्रण समयमै गर्ने सार्वजनिक प्रतिबद्धता दिनुपर्ने स्थिति छ।
यसको एउटै कारण हो,कांग्रेस सभापति शेरबहादुर देउवालाई धोका हुँदैन है भनेर आश्वस्त पार्नु। तर, कांग्रेसले धेरै परसम्मको यात्रा नगर्न सक्छ है भन्ने मनोवैज्ञानिक त्रास भने फैलाउन थालेको छ।
कुनै बेला कांग्रेस महामन्त्री गगन थापाले सरकारलाई ठूलो आडभरोसा दिने अभिव्यक्ति राख्ने गर्थे। गगनले प्रधानमन्त्री केपी ओलीले गरिरहेको मेहनतले आफू अत्यन्तै खुशी भएको अभिव्यक्ति संसदमै दिएका थिए।
प्रधानमन्त्री ओलीको मेहतनले खुशी छु भनेका गगन थापा अहिले प्रधानमन्त्री ओलीको बेडसम्मै विचौलिया पुग्न थालेको आरोप लगाउने तहमा पुगेका छन्।
प्रधानमन्त्रीको बेडसम्म विचौलिया पुग्ने आरोप सामान्य विषय होइन। यतिमै नरोकिएका गगनले भनिरहेका छन्, सरकारको गति ट्याक्टरको जस्तो भयो। कति सहने।
यसरी कांग्रेसभित्रबाट ओली नेतृत्वको सरकारमाथि प्रश्न गर्न थालिएका छन्। कांग्रेस नेताहरुले सरकारको विरोध गर्दै गर्दा केहिले भने आशंका गरेका छन्।
सरकारी नियुक्तिदेखि अन्य विषयको भागबण्डामा प्रधानमन्त्री ओलीलाई दबाबमा राखेर अघि बढ्ने र सहज परिस्थिति निर्माण गरेर सरकारको नेतृत्व फेर्न माओवादी केन्द्र लगायतका साना दलहरुको साथ लिने। यहि तयारीका साथ कांग्रेसले थालेको राजनीतिक यात्राका विभिन्न आयामबारे छलफल बहस भने शुरु भएको छ।
काँग्रेसका महामन्त्री थापाले प्रधानमन्त्री केपी ओलीलाई पुरापुर सहयोग गर्ने भनिरहेका देखिन्थे। तर, पछिल्लो समय स्थिति फेरिन थालेको छ।
गगनले सरकारको गतिमा प्रश्न गरिरहेका छन् भने प्रधानमन्त्रीको बेडरुमसम्म विचौलिया पुगेर स्थितिलाई अर्को ठाउँमा पु¥याउन खोजेको आरोप लगाइरहेका छन्। यसले पनि कांग्रेसले अब सरकारमाथि अनेक दबाब सिर्जना गर्न खोज्दैछ भन्ने संकेत गरिरहेको छ।
यसका पछाडीको कारणमा गगनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर समयमै पार्टी महाधिवेशन र नेतृत्व लिने प्रयास थालेको अर्थमा लिइएको छ ।
यता, शेखर कोइरालासँगको सम्बन्धमा समेत खास सुधार नआइरहेको बेला शेखरले देउवा पक्षका नेताहरुलाई आफूतर्फ तान्ने काम गर्न थालेपछि गगनले पनि राजनीतिक चक्रलाई युटर्न मार्ने बाटोमा ल्याउन खोजेका छन्।
त्यस्तै बढ्दो उमेर र पार्टी जिम्मेवारीका हिसाबले पनि शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिनका लागि १५ महिना कुर्ने समय धेरै लामो हुने स्थिति छ।
राजनीतिमा १५ महिना ठूलो समय भएकाले र प्रतिपक्षी दलहरुले खुलेआम समर्थन गर्ने सार्वजनिक अभिव्यक्ति नै दिन थालेको बेला देउवा आफैले सरकार ढाल्नुको सट्टा पार्टीलाई नै त्यसमा सक्रिय बनाउने प्रयास गर्ने देखिन्छ।
देउवाले सत्ता नेतृत्व लिदा पार्टी पक्तिको साथ लिने र सर्वसम्मत रुपले नेतृत्व गर्दा विरोध र विवाद नआउने परिस्थिति निर्माण गर्न खोजेका छन्। यो परिस्थिति बन्दै गरेको देखिन्छ।
इतर पक्षका शेखरदेखि गगन लगायतका नेताहरुले सरकारमाथि प्रश्न गर्दा बार्गेनिङ पावर बढ्नुका साथै माहोल बन्दै गएको छ। यस्तो मनशाय पालेर बसेका देउवालाई अब सरकारको नेर्तत्व लिने परिस्थिति पनि निर्माण हुँदै गएको बताउन थालिएको छ।
त्यसैगरी प्रधानमन्त्री केपी ओली हाई मोरलका साथ सरकारको नेतृत्व गर्ने र रवाफ देखाउने नेतामा चिनिन्थे। तर, पछिल्लो समय यस्तो देखिन्न।सरकारको नेतृत्व लिएकै दिनदेखि सत्ता छाड्ने समयावधी तोक्दै हिडेका छन्।
देउवालाई रिझाउन अनेक प्रयास गरिरहेका छन्। यस्तै, राजनीतिक नियुक्तिमा समेत लचकता देखाउनुपर्ने स्थिति बन्न थालेको छ।राष्ट्र बैंकको गभर्नर नियुक्तिमा समेत कांग्रेसको हस्तक्षेप बढेपछि ओली हच्किएको बताइन्छ।भने टीआरसीमा समेत नियुक्तिको भागबण्डा लगभग भइसकेको बताइन्छ।
यसरी सरकारी नियुक्तिमा समेत कांग्रेस हाबी हुने र ओलीको पालामै सबै नियुक्ति आफ्नो पोल्टामा पारेर कांग्रेसले सत्ता नेतृत्व लिने तयारी गरेपछि ओलीको लचकता काम लाग्ला ? मोरल डाउन भएरै सरकारको नेतृत्व गरिरहँदा यसको सार्थकता पुष्टी होला ? तमाम प्रश्नहरु सतहमा देखिन थालेका छन्। त्यसैले अब सरकार कति बेला परिवर्तन हुन्छ भन्ने दिन गन्ति सुरू हुँदै गएकाे जानकारहरूले बताउने गरेका छन्।