ओली नेतृत्वको सरकार भ्रष्टाचारी र दलाल बचाउन बनेको हो: अध्यक्ष प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार असंवैधानिक भएको आरोप लगाएका छन्। रुपेन्देहीको भैरहवामा आज प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असंवैधानिक भएको आरोप लगाएका हुन्।
प्रचण्डले सरकार बनाउँदा कांग्रेस र एमालेका एक दुई जना नेता बाहेक अरुलाई थाहा नदिई अपारदर्शी ढंगले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको दाबी गर्दै दुई तिहाइको नभई षड्यन्त्र र अपारदर्शी भएको टिप्पणी गरे।
‘यो सरकारको जन्म नै संविधान कुल्चेर अप्राकृतिक ढंगले बनेको हो। यो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो, उनले भने,मैले यो सरकारले विश्वासको मत लिने बेलामा नै संविधानको धारा ७६ (३) अनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भनेको हो।