गगन र ओली किन भिडे, के सत्ता गठबन्धन परिवर्तन होला ?

काठमाडौं। कांग्रेस एमाले सम्मिलित दुई तिहाइ बहुमतको सरकार सत्तारुढ दलकै नेताहरुको निसानामा पर्न थालेको छ। प्रतिपक्षी दलका साथै सत्तारुढ दलका नेताहरुले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दा ओली सरकार दबाबमा पर्दै गएको छ। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सरकारको आलोचनामा उत्रिनुले विभिन्न आशंकाहरु उब्जाएको छ।

पार्टी सत्तामा छ तर पछिल्लो समय कांग्रेस महामन्त्री गगन थापा भने प्रतिपक्षीको भाषा बोल्दै हिँडेका छन् । सरकारमाथि उनी आफ्नो असन्तुष्टि पोख्न कुनै कसर बाँकी राख्दैनन्।

रास्वपाका सभापति रवि लामिछानेलाई ठेगान लगाउँदा होस् वा सरकार निर्माणको समयमा गगनलार्ई मन्त्री बनाउने जोडबल गर्दा गगन र प्रधानमन्त्री केपी शर्मा ओली एकै ठाउँमा थिए । तर पछिल्ला दिनहरुमा महामन्त्री थापा र ओलीबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन।

अहिले गगन जहाँ जहाँ पुग्छन्, सरकार र प्रधानमन्त्री ओलीमाथि आगो ओकलीहाल्छन्। प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र भन्दा पहिलो पंक्तिमा रहेर गगनले सरकारको तिखो आलोचना र खबरदारी गरेको देखिन्छ।

मंगलबार काठमाडौंमा बौद्धिक पेशाकर्मी अभियानले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले अहिलेको अर्थतन्त्रमा बिचौलियाका कारण समस्या आएको बताउँदै प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाहरू पुग्ने गरेको टिप्पणी गरे।

उनले प्रधानमन्त्रीको नाम नलिए पनि नेतृत्वको बेडरुमसम्मै बिचौलिया पुग्ने गरेको आरोप लगाए। राष्ट्र बैंकको गभर्नर बनाउन पनि अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुलम खुल्ला बहस हुने गरेकोभन्दै सरकारमाथि गम्भीर प्रश्न तेर्साए।

महामन्त्री थापा पछिल्लो समय सरकार र प्रधानमन्त्री ओलीमाथि आक्रामक देखिन्छन्। पार्टी सभापति शेरबहादुर देउवा रआरजु राणा देउवा ओलीप्रति नरम र लचिलो देखिँदा महामन्त्रीद्वयगगन र विश्वप्रकाश शर्मा भने सरकारको काम कारबाहीप्रति खरो आलोचक बनिरहेका छन्। महामन्त्री थापाले वर्तमान सरकारलाई बद्नाम गराउने र भन्डाफोर गर्ने कसम नै खाएर लागेका जस्ता देखिन्छन्।

थापाले दुई ठूला पार्टी मिलेर सरकार बनेपछि संविधानमा केही कुरा बदलाव ल्याउने विषय तुरुन्त प्रारम्भ हुन्छ भन्ने आशा रहे पनि त्यो पूरा हुन नसकेको असन्तुष्टि पोखे।

सरकार गठन हुँदा संविधान संशोधन, आर्थिक पुनरुत्थान, र सुशासनका मुद्दाहरूलाई प्राथमिकता दिने सहमति भएको थियो। तर, नौ महिनाको अवधिमा यी प्रतिबद्धताहरू व्यवहारमा उतार्न सरकार असफल भएको थापाको ठम्याइ छ। यस्तै सरकार सञ्चालनमा सहयोग गर्ने भन्दै गठन गरिएको संयन्त्रको सुझावलाई प्रधानमन्त्री र मन्त्रीहरुले बेवास्ता गरेकोप्रति पनि उनको चरम असन्तुष्टि देखिन्छ ।

राजनीतिको फोहोर सफा गर्ने अभियानमा आफूहरु रहे पनि मिसिन भने नगएको उनले जिकिर गरेका छन् । फोहोर सफा गर्न पोखरीमा पस्दा बाहिरबाट हेर्नेले आफूहरुलाई पनि फोहोरमा मिसिएको हो कि भने जस्तो देखे पनि वास्तविकता त्यस्तो नभएको जिकिर गरेका छन्।

गगन लगायतबाट सरकारकै आलोचना हुँदा प्रधानमन्त्री ओली भने रुष्ट बनेका छन्। सत्तारुढ दलले सरकारलाई सफल बनाउन भूमिका खेल्नु पर्नेमा विपक्षी जसरी प्रस्तुत हुँदा प्रमुख प्रतिपक्षी दललाई राहत मिलेको छ भने प्रधानमन्त्री ओली आफ्नैबाट घेरिन पुगेका छन् ।

संविधान संशोधन र आर्थिक सम्वृद्धिको नारा दिएर बनेको कांग्रेस एमाले गठबन्धनलेपछिल्लो समय एकअर्काबीच आरोप प्रत्यारोपमै समय खेर फालिरहेका छन्।

सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखक बाहेक वर्तमान सरकारप्रति सबै रुष्ट देखिन्छन्।

वर्तमान सरकार जनताको काममा भन्दा पनि आफ्नो स्वार्थपूर्ति गर्न र काण्डहरु मिलाउनमा व्यस्त भएको आरोप लाग्दै आएको छ। त्यसो त थापा र शर्माजस्ता युवा नेताहरूले पार्टीमा नयाँ नेतृत्व र नीतिगत सुधारको वकालत गरिरहेका छन्। सरकारको कमजोरीलाई उजागर गरेर उनीहरूले पार्टीभित्र पुरानो नेतृत्वमाथि दबाब सिर्जना गर्न खोजेका देखिन्छ।

कांग्रेस र एमालेबीच नीतिगत र कार्यान्वयनका मुद्दामा असहमति छ। थापा र शेखर कोइरालाजस्ता नेताहरूले गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदा सरकारमाथि दबाब बढेको छ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र अन्य दलहरूले पनि सरकारको आलोचना गरिरहँदा थापाले आफ्नो पार्टीको साख जोगाउन र गठबन्धनको कमजोरीप्रति सचेत गराउन आलोचनालाई हतियार बनाउन खोजेका देखिन्छ।

यद्यपि, ओली सरकारप्रतिको आलोचनाको भित्री अन्तर्यमा सरकारको कमजोर कार्यसम्पादन, सुशासन र जवाफदेहिताको अभाव, गठबन्धनको प्रभावकारितामाथिको प्रश्न प्रमुख विषय हुन्।

साथै, थापाको यो कदमले एकातिर उनको वैचारिक अडान र नेतृत्वको छविलाई बलियो बनाउन खोजको देखिन्छ भने अर्कोतिर गठबन्धन र कांग्रेसभित्र नयाँ राजनीतिक समीकरणको संकेत पनि गरेको छ।