२५ करोड बोक्ने ट्रक चालक जेल चलान, मालिक फरार

काठमाडौं । काठमाडौंको टोखास्थित झोर क्षेत्रबाट २५ करोड बराबरको विदेशी रकमसहित पक्राउ परेका ट्रक चालक जेल चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले ट्रक चालक सिन्धुपाल्चोकका फुच्चे भनिने ४३ वर्षीय कुसाङ लामालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।

गत ४ चैत राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर चीनतर्फ लाँदै गरेको अवस्थामा प्रहरीले लामालाई पक्राउ गरेको थियो। भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर उक्त रकम लैजाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

उक्त रकमको मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल भने फरार छन्। उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो।

दुवै जनालाई प्रतिवादी बनाएर विदेशी विनिमय ९नियमन गर्ने० ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्दा दर्ता गरिएको थियो। उनीहरूविरुद्ध बरामद भएको रकम २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो र जरिवाना समेत मागदाबी गरिएको छ।