भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु, १० जना पक्राउ

दिपायल। डोटीमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ। बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको गोली लागेर मृत्यु भएको हो।

बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा शिकार खेल्न गएका रजेडका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किँएर सार्कीको दायाँ छातीमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको हो।

बन्दुक बोक्ने खड्का, रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरिएको खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तले जानकारी दिए।