गभर्नर नियुक्तिमा ठुलो आर्थिक चलखेल भइरहेको छ: उपमहासचिव पुन

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा गम्भीर आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन्।

शुक्रवार चन्द्रागिरीमा आयोजित पार्टी सम्बद्ध कार्यक्रममा बोल्दै पुनले सरकारले स्वार्थ समूहका इशारामा गभर्नर नियुक्त गर्न खोजेको आरोप लगाएका हुन् । उनले नियामक निकायहरूमा अघिल्लो पटक जस्तै फेरि पनि बिचौलिया र शक्तिशाली समूहको प्रभावमा निर्णय हुन लागेको उल्लेख गरे।

‘गभर्नर जस्तो संवेदनशील पदमा अरबौँको आर्थिक डिल भएको चर्चा सार्वजनिक सञ्चार माध्यमहरूमा आइरहेका छन्,पुनले भने,स्वार्थ समूहका प्रतिनिधिलाई राष्ट्र बैङ्क जिम्मा दिन खोजिएको हो भने त्यो खतरनाक हुनेछ।

उनले पैसाको भरमा जिम्मेवारी लिनेहरूले सधैँ पदमा टिकिरहने कल्पना नगर्न चेतावनी दिए। साथै, स्वार्थ समूहकै गठबन्धनबाट काँग्रेस–एमाले सरकार बनेको र त्यो सरकार पूर्ण रूपमा असफल भएको पनि टिप्पणी गरे।

विकास, सुशासन र जनअपेक्षामा सरकार चुकेको भन्दै पुनले जनतामा निराशा बढेको र त्यसलाई राजावादी शक्तिहरूले प्रयोग गर्न खोजिरहेको बताए। ‘अब नेपाली जनता रैती हुन चाहँदैनन्,’ उनले दोहोर्‍याए।