अब समस्याको समाधान दिनुपर्ने समय आयो: महामन्त्री थापा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब समस्या देखाएर मात्र नहुने, समाधान दिनुपर्ने समय आएको बताएका छन्।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनद्वारा आयोजित कार्यक्रममा उनले कांग्रेस अब गुनासो गर्ने पार्टी नभई समाधान दिने पार्टी बन्नुपर्नेमा जोड दिए। थापाले भने,हामी रोजगारीको समस्या समाधान गर्न चाहन्छौँ। अब कांग्रेसले समाधान दिने पार्टीको रूपमा भूमिका खेल्नुपर्छ।
थापले कांग्रेसले ‘मिसन रोजगारी’ नामक राष्ट्रिय अभियान सुरु गरेको र जसमा वैदेशिक रोजगारीका समस्या समाधान गर्ने उद्देश्य राखिए जानकारी दिए । महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर अभियान अघि बढाइरहेको थापाले बताए।
‘वैदेशिक रोजगारीको क्षेत्र गाली र तिरस्कारको विषय होइन। हामी ज्ञान उत्पादन गर्ने,समाधान खोज्ने काममा सरोकारवालासँग सहकार्य गर्न चाहन्छौँ,’ थापाले भने।
उनले केही विश्वविद्यालय र शैक्षिक संस्थाहरूसँग सहकार्य सुरु भइसकेको जानकारी दिए। थापाले निजी क्षेत्रसँग पनि सहकार्य गर्दै नेपालको रोजगारी समस्या समाधान गर्न कांग्रेस तयार रहेको स्पष्ट पारे।