नेपाल र अफगानिस्तानबीच निर्णायक खेल आज, जित्ने टोली विश्वकपमा

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा आज नेपालले अफगानिस्तानसँग् प्रतिस्पर्धा गर्दैछ । खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

दुवै टोली समान ३ जितका साथ अन्तिम खेलमा आमनेसामने हुँदैछन् । यस खेल जित्ने टोली आगामी वर्ष जिमबाबे र नामिबियामा हुने आईसीसी यू–१९ क्रिकेट विश्वकपमा छनोट हुनेछन् । त्यसकारण यस खेललाई निर्णायक मानिन्छ ।

प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवैले ओमान, हङकङ र यूएईलाई हराउँदै तीन जित निकालेका थिए । अफगानिस्तानले तीनवटै खेलमा फराकिलो जित निकालेका कारण नेट रनरेटमा नेपालभन्दा अघि छ । नेपालले यूएईलाई ५ रनको अन्तरले मात्र हराएको थियो भने अफगानिस्तानले यूएईलाई १८० रनले हराएको थियो ।

आजको खेलमा नेपाल घरेलु मैदानमा घरेलु दर्शककै अगाडि अफगानिस्तानको चुनौती समाप्त पार्दै विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।