राप्रपाकाे प्रदर्शनमा यस्तो छ रणनीति,निषेधित क्षेत्रमा बिहानैदेखि प्रहरी परिचालन

फाइल तस्वीर

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी आजदेखि सशक्त आन्दोलन गनर्दे भएको छ । आज पहिलो दिनमै निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने राप्रपाले पूर्वघोषणा गरेको छ ।

यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो । तर, उक्त जनप्रदर्शन प्रभावकारी हुन सकेन । आजबाट हरेक दिन आन्दोलनलाई निरन्तरता दिने र सरकारलाई झुकाएरै छोड्ने राप्रपाको तयारी छ ।

बिहीबार बसेको राप्रपाको वैठकले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने बोल्ड निर्णय गरेको थिया । राप्रपाको यस्तो निर्णयपछि सरकारले सुरक्षा सर्तकता अपनाएको छ ।

गत चैत १५ गतेको तीनकुने आन्दोलनजस्तै हिंसात्मक हुने त होइन भन्ने त्राश उत्पन्न भएको छ । तर, राप्रपाका जिम्मेवार नेताहरुले पार्टीको तर्फबाट कुनै हिंसात्मक गतिविधि नहुने बताउँदै आएका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शान्तिपूर्ण आन्दोलन गर्ने पार्टीको नीति रहेको बताए । उनले राप्रपा हिंसामा विश्वास गर्ने पार्टी नभएको भन्दै भने, ‘हाम्रो आन्दोलन सधैंझैं शान्तिपूर्ण हुन्छ ।

सरकारले पनि अनावश्यक दमन नगर्ने अपेक्षा लिएका छौं । राप्रपाका प्रदर्शनकारीले बानेश्वर, भद्रकाली र बालुवाटारस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गर्ने छन् ।

निषेधित क्षेत्र तोड्ने क्रममा केही प्रमुख नेताहरुले गिरफ्तारी दिन सक्ने स्रोतको भनाइ छ । तर, ककसले गिरफ्तारी दिने भन्ने तय भएको छैन । अध्यक्ष लिङदेनले भने आफू थुनिन तयार रहेको बताउँदै आएका छन् ।

आज अध्यक्ष लिङदेनको नेतृत्वमा विजुलीबजारमा मध्यान्न १२ बजे प्रदर्शन सुरु हुनेछ । लिङदेनले नै अगूवाइ गरेर बानेश्वरको निषेधित क्षेत्रतर्फ अघि बढ्ने योजना रहेको राप्रपा स्रोतले बताएको छ ।

यस्तै, बालुवाटारमा सम्भवतः डा। प्रकाशचन्द्र लोहनीले र भद्रकालीमा विक्रम पाण्डेले आन्दोलनको नेतृत्व गर्ने तयारी छ। यद्यपि, अन्तिम समयसम्ममा आन्दोलनको रणनीतिमा परिमार्जन गर्न सक्नेछन् ।

सरकारी पक्ष भने आन्दोलनकारीप्रति कडा रवैया देखाउने मनस्थिति रहेको छ । गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिले पनि त्यस्तो संकेत गरेको छ । विज्ञप्तिमा निषेधित क्षेत्र तोड्न खोजेमा सैह्य नहुने बताइएको छ ।

निषेधित क्षेत्रमा बिहानैबाट प्रहरी तैनाथ

यसैबीच राप्रपाले सरकारलाई निषेधित क्षेत्र तोड्ने चुनौती दिएपछि प्रहरी परिचालन व्यापक बनाइने भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार आइतबार बिहानैबाट निषेधित क्षेत्रको सुरक्षाका लागि प्रहरी तैनाथ हुँदैछन् । ‘उनीहरूले तयारी गरेको समयअघि नै हाम्रो टोली पुग्छ’, उनले भने ।

केन्द्रीय प्रहरी स्रोतका अनुसार राप्रपाको कार्यक्रमलाई दृष्टिगत गर्दै आइतबार निषेधित क्षेत्रमा उपत्यकास्थित विभिन्न गण, गुल्मबाट प्रहरी परिचालन गरिने भएको छ ।

उनीहरूसँग म्याद नगुज्रिएको अश्रुग्याँस, प्लाष्टिकका गोली र वाटर क्यानल रहने स्रोतले जनायो । प्रहरीको तैनाथीसँगै उपत्यका ट्राफिक प्रहरीले ट्राफिक डाइभर्सनको योजना बनाउने भएको छ ।