विदेश पठाइदिने नाममा ठगी व्याप्त,रोजगारी दिन नसक्ने सरकार दलाललाई कारबाही गर्नसमेत असफल
रुषा थापा

देशमा पर्याप्त रोजगारी छैन । बेरोजगारी बढ्दो क्रममा छ । पछिल्लो समय रोजगारीको खोजीमा विदेशिनको संख्या ह्वात्तै बढेको छ । रोजगारीको सिलसिलामा मानिसहरु खाडीलगायत विभिन्न मुलुक पुगेका छन् । विदेशिनु नेपालीको बाध्यता हो । विडम्बना, यही बाध्यतामा केही ठगहरुको रजगज चलेको छ ।
वैदेशिक रोजगारीमा पठाइदिने नाममा ठगी गरेको घटना व्याप्त छ । व्यक्तिदेखि मिनपावर, कन्सलट्रेन्सीसम्म् यसमा संलग्न हुने गरेका छन् । अहिले बजारमा अधिकांश मानिसहरुको मुखबाट एउटा गुनासो सुनिन्छ, ‘विदेश जान मिनपावरलाई पैसा बुझाएको महिनौं बित्यो तर अहिलेसम्म केही भएको छैन ।
दुबई, कतार, मलेसिया, साउदी अरबलगायत खाडी मुलुक जानका निम्ति एउटै व्यक्तिले मिनपावरलाई दुई लाखदेखि पटकपटक गरेर २०–२५ लाख रुपैयाँसम्म बुझाएका छन् । पैसा बुझाउँदा एक महिनाभित्र भिसा आउँछ भनिएकोमा सात–आठ महिना बित्दासमेत केही प्रक्रिया अघि बढेको अधिकांशको गुनासो छ ।
उनीहरु भन्छन्, ‘देशमा त रोजगारी भएन । तर, विदेश जान खोज्दा पनि ठगीको सिकारमा पर्ने रहेछ । जे गरेपनि सुःख छैन ।’ यता, उच्च शिक्षाका निम्ति विकसित मुलुक पठाइदिने नाममा कन्सलट्रेन्सीहरुले पनि ठगी गर्ने क्रम बढेको छ । कन्सलट्रेन्सीले एउटै व्यक्तिबाट २० लाखदेखि करोडौं ठगेको सुन्ने गरिएको छ ।
त्यसो त अहिले अधिकांश मानिस ठगिनुको पछाडि आफन्तकै हात रहने गरेको छ । फलानो मिनपावर मैले चिनेको छु, त्यहाँ राम्रो हुन्छ भन्दै लगिन्छ । डकुमेन्ट, पैसा बुझाइन्छ । पछि मिनपावर नै भाग्छ । फेरि आफन्तले चाँहि त्यो मिनपावरबाट मानिस ल्याएबापत कमिशन खाएको हुन्छ । ‘शत्रु खोज्न घरबाहिर पर्नु पर्दैन’ भनेजस्तो भएको छ ।
जहाँ पनि दलालीको बिगबिगी छ । त्यो चाँहे वैदेशिक रोजगारीमा पठाइदिने नाममा होस् या घरजग्गा, गाडी र सेयरमा । दलालीका कारण लाखौं सर्वसाधारणको बिचल्ली भएको छ । विदेश गएर कमाउने भनेर मानिसहरुले आफन्त वा बैंकबाट ऋण लिएर दलालीलाई बुझाएका हुन्छन् । तर, दलाली भागेपछि उनीहरुको कन्तबिजोग भएको छ ।
मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । एकातिर रोजगारी छैन, अर्कोतिर ऋणको साँवाब्याज दिनहुँ बढिरहेको छ । ठगीमा परेको चिन्ता फेरि छँदैछ । यहाँ त दलालीहरुले आम नागरिकलाई जतिसुकै ठगेपनि छुट पाइने । किनकि उनीहरु राजनीतिक दलको कार्यकर्ता जो परे । दल भएपछि जस्तोसुकै अपराध गरेपनि उन्मुक्ति पाइने ।
कोट लगाएर जनता ठग्ने काम भइरहेको छ । हातमा दुईटा मोबाइल, कोट लगाई मिठो बोलेर सोझासाझा जनता ठगिन्छ । बैंक, वित्तिय संस्थाका कर्मचारीले पनि कोट नै लगाएर सर्वसाधारण जनता ठगे । सरकारी कर्मचारी कोट लगाएरै घुस खाएका छन्, भ्रष्टाचार गरेका छन् । अनि नेताहरुले पनि कोट नै लगाएर देश विदेशीलाई बेचिसकेका छन् ।
त्यसैले, अब कोट लगाउनेसँग जनता सचेत हुनुपर्छ । कोट लगाएको देखेर विश्वासमा पर्नुहुन्न । नत्र त्यही कोटले घरखेत सिद्धिन सक्छ । ठगहरु नयाँ नयाँ आइडिया ल्याइरहेका हुन्छन् । कहिले कुन बहानामा ठग्छन् त कहिले के मा । ठगको सिकारमा परेर कतिपयले घरखेत नै सिध्याएका छन् । घर न घाटको अवस्थामा पुगेका छन् ।
तर, दलालीहरुले सोझासाझा जनतालाई यसरी ठगिरहँदा सरकार चाँहि मुकदर्शक बनेर रमिता हेरिरहेको छ । जनता डुबेको । सुकुम्बासी अवस्थामा पुगेको । सरकारलाई करसँग मात्र सरोकार छ । त्यो कर चाँहे जनता ठगिएर आएको नै किन नहोस् । दलहरुलाई सदस्यता बढाउन पाए पुग्यो । आफ्ना पार्टीमा कस्ता व्यक्ति सदस्य छन् ? भन्नेसँग उनीहरुको चासो हुँदैन, चासो हुन्छ त सदस्य बढाउने मात्र ।
पत्रकारिता राज्यको चौथों अंग हो । जनताको पीडा, दुःख बाहिर ल्याउनु आम सञ्चार माध्यमको धर्म हो । तर, पत्रकारहरु अल्छी हुँदै गएका छन् । अचेल पत्रिकामा समाचार कम विज्ञापन बढी देखिन्छ । पत्रकारहरुले समाजमा लुकेका घटनाहरुको खोजतलास नै गर्न छोडिसकेका छन्। जसका कारण मानिसहरुले पत्रपत्रिका पढ्नसमेत छोडेका छन् ।
जनता भन्छन्, ‘सबै पत्रिकामा एउटै समाचार हुन्छ । शीर्षक मात्र फेरिएको हुन्छ । पत्रिकामा समाचार केही हुन्न । विज्ञापन मात्र देखिन्छ । कि त दलको गुनगान गाएको हुन्छ ।’ यहाँ सबैलाई कमाउनुपरेको छ । पछिल्लो समय सञ्चार माध्यमहरु विज्ञापनको लोभमा पर्दा ठगहरुको मनोबल बढेको हो । विज्ञापन आएपछि जतिसुकै ठगेपनि सञ्चार माध्यमले सोविरुद्ध समाचार लेख्दैनन् ।
अनि दलालीहरु झन् सर्वसाधारण ठग्छन् । सञ्चार माध्यम विज्ञापनको लोभमा पर्नुहुन्न । विज्ञापन चाहिन्छ तर कस्तो विज्ञापन लिने भनेर सञ्चार माध्यमले छुट्याउन सक्नुपर्छ । विज्ञापनका निम्ति करोडौं जनतामाथि क्षति पुगिरहेको अवैध काम वा ठगीलाई दबाउनुहुन्न ।
सत्यतथ्य बाहिर ल्याउनैपर्छ । जनता अझै पनि अशिक्षित, गरिब छन् । जसको फाइदा दलाल, बिचौलियाहरुले उठाइरहेका छन् । यस्तो अवस्थामा सञ्चार माध्यमले आफ्नो धर्म निर्वाह गरेर जनताको आँखा खोलिनुपर्छ । जनताप्रति सरकारलाई जवाफदेही बनाउनुपर्छ ।
हुन त जनता ठग्ने राजनीतिक दलहरु नै हुन् । दलका कार्यकर्ताले नै मिनपावरदेखि कन्सलट्रेन्सी, निजी विद्यालय, सहकारी, बैंक खोलेका छन् । फेरि कार्यकर्तालाई पर्दाभित्र बसेर ठग्न सिकाउने चाँहि नेतृत्वकर्ता वा नेता हुन् । बाहिर जनताको पक्षमा बोल्ने, भित्र आफैं ठग्न लगाउने काम भइरहेको छ ।
ओली, देउवा, प्रचण्ड र नेपाल यसका प्रमुख नाइके हुन् । फेरि यिनीहरुलाई कारबाही गर्ने हिम्मत कसैसँग छैन । जनताले तिरेको करबाट तलबभत्ता खाने सुरक्षाकर्मीहरु यिनीहरुलाई सलाम ठोक्छन्। जबकी यस्ताको हातमा हत्कडी लगाइदिनुपर्ने हो । जबसम्म यी चार जना कानूनको कठघरामा आउँदैनन्, तबसम्म ठगी र अपराध चलिरहने छ ।
सुन तस्करीदेखि मानव तस्करी, सरकारी, सार्वजनिक गुठीका जग्गा व्यक्तिको नाममा लैजाने वा हिनामिना गर्ने दलकै कार्यकर्ता हुन् । नेतृत्व निर्देशन दिने, कार्यकर्ता त्यो पूरा गर्ने । त्यसैले, दलका नेतृत्वलाई कानूनको कठघरामा नल्याएसम्म देशमा यस्ता अपराध भइरहने छ ।