जनमत गणतन्त्रकै पक्षमा छ: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

विराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रका सवालमा दलहरूबीचमा कहिल्यै विमति नरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले भने,गणतन्त्रमा त हामी त्यसै पनि एक छौं,यसै पनि एक छौं। गणतन्त्रकै निम्ति लडेर यहाँसम्म आएका हौं।उनल गणतन्त्र गम्भीर खतरामा प¥यो भनेर सोच्न आवश्यक नरहेको बताए।

जनमत र जनाधारका दृष्टिकोणले गणतन्त्रमाथि कुनै खतरा आएको भनेर सोच्न आवश्यक नभएको पनि उनले बताएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेको प्रचण्डले भने,पहिलो कुरा अहिले नै गणतन्त्रप्रति त्यस्तो गम्भीर खतरा आयो भन्याजस्तो गरी सोच्न जरुरी छैन।

जनाधार र जनमतको दृष्टिकोणले पनि अहिले दलहरू चाँहि गणतन्त्रको रक्षाको निम्ति एक हुनैपर्ने, नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठीक छैन।

अहिलेको गठबन्धनलाई माओवादीको समर्थन नरहने प्रचण्डले स्पष्ट पारेका छन्। शनिबार ३ दलका शीर्ष नेताबीच बालुवाटारमा भएको छलफल शान्ति प्रक्रियाको सन्दर्भमा रहेको उनले बताए।

छलफल शान्ति प्रक्रियाको सन्दर्भमा रहेको र अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा गणतन्त्रका पक्षधर एक भएको सन्देश दिइएको उनको भनाइ छ।

वर्तमान गठबन्धनलाई माओवादीले समर्थन गरेको र सरकारमा जान लागेको भन्ने चर्चा गरिएको प्रति खण्डन गर्दै उनले भने,अहिलेको गठबन्धनलाई समर्थन होइन। त्यो विल्कुल होइन।

त्यो भ्रम नपरोस्। हिजो भेटेपछि लौ समर्थन भयो रे। फेरि गठबन्धनमा जाने भयो कि क्या हो ?जस्तो चर्चा भएको छ। त्यो विल्कुल गलत हो। त्यो गठबन्धनमा जाने र समर्थन गर्ने कुरा हुन सक्दैन।

प्रचण्डले गणतन्त्र नामले नभइ कामले बच्ने बताए। दलहरूले राम्रो काम गर्न सके गणतन्त्र संस्थागत हुँदै जाने बताउँदै उनले राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन संवैधानिक,कानुनी तथा अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने दाबी गरे।

‘राजनीतिमा आउने इच्छा भयो भने केहीले रोक्दैन। हाम्रै उपराष्ट्रपतिले पार्टीको सिपाहीकै रुपमा काम गर्न चाहनुभयो’ उनले भने,तर गणतन्त्र सृदृढ हुँदै जानुपर्छ।

राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै बचाएर गणतन्त्र बच्ने हैन। नामले नभइ कामले बच्नुपर्छ।जनमत गणतन्त्रकै पक्षमा रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।