राप्रपाका अध्यक्ष लिङ्देनसहित पक्राउ परेका नेताहरू रिहा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार सिंहदरबारभित्र गरेको प्रदर्शनका क्रममा पक्राउ परेका अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जना नेता–कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखेको थियो। प्रहरी परिसरका प्रमुख एसपी अपीलराज बोहराका अनुसार, सोही दिन साँझ सबैलाई छोडिएको हो।
रिहा हुनेहरूमध्ये अध्यक्ष लिङ्देनसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चा अध्यक्ष कैलाश कटवाल रहेका छन्।
सिंहदरबार क्षेत्र सरकारको उच्च सुरक्षा घेराभित्र पर्छ। सो क्षेत्रमा अनुमति बिना प्रदर्शन गर्न नपाइने भए पनि राप्रपाले त्यहीँ प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। राप्रपाले सरकारविरुद्ध आक्रोश जनाउँदै भ्रष्टाचार, बेथिति र महँगीविरुद्ध आन्दोलन गर्दै आएको छ।