सरकारलाई जनताको प्रश्न,सडक गाडी गुडाउन बनाएको कि आन्दोलन गर्न ?

काठमाडौंको सिफल र तीनकुनेस्थित खाली चौर छ। टुँडिखेलमा पनि खाली चौर छ। भक्तपुरको सल्लाघारी तीनकुनेस्थित समेत खाली चौर छ। शिक्षक आन्दोलनको आज १९ औं दिन भएको छ। आन्दोलनको नाममा शिक्षकहरुले माइतीघर–नयाँ बानेश्वर सडकखण्ड कब्जा गरेका छन् । जसका कारण आम सर्वसाधारण मर्कामा परेका छन्।

सडक कब्जा गरेर शिक्षकहरु सुत्दा, नाचगान गर्दा आम नागरिक भने अस्पताल जान समेत सकिरहेको अवस्था छैन । अहिले माइतीघरबाट कोटेश्वर आउनु परेमा हिँड्दै आउनुपर्ने अवस्था छ । किनकि शिक्षक आन्दोलनका कारण त्यहाँ सवारीसाधन चल्न पाएको छैन । उता, माइतीघर, थापाथली, त्रिपुरेश्वर, रत्नपार्कलगायत स्थान जानुपर्ने मानिसहरु पनि समस्यामा परेका छन् ।

कोटेश्वरदेखि हिँडेर जानुपरिरहेको छ । सडक जनताले तिरेको करबाट बनाइएको हो । सर्वसाधारणको घर भत्काएर सवारीसाधन चलाउनका निम्ति सरकारले सडक बनायो । गाडी गुड्न बनाइएको सडकमा आन्दोलनका नाममा शिक्षकहरुको रमिता चलेको छ । सडक कब्जा गरेर नाटक प्रदर्शन गर्ने काम भइरहेको छ । सरकार चाँहि मुकदर्शक भएर बसिरहेको छ ।

आन्दोलनका नाममा बाटो कब्जा गरेर सर्वसाधारणलाई अनाहकमा दुःख, हैरानी दिइँदा सरकार न माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा निषेधाज्ञा जारी गर्छ न खाली चौरमा आन्दोलन गर्न शिक्षकहरुलाई निर्देशन नै दिन्छ । शिक्षकसामु सरकार लम्पसार पर्दा त्यसको असर जनताले भोग्नुपरिरहेको छ । शिक्षकलाई हेर्ने दृष्टिकोणमा समेत जनताको नजर बदलिँदै गएको छ ।

शिक्षित भनिएकाहरु नै अनपढजस्तो व्यवहार गर्न थालेपछि शिक्षकहरुप्रति जनताको सम्मानमा गिरावट आएको छ । शिक्षक आन्दोलनका कारण अनाहकमा दुःख, हैरानी पाइरहेका नागरिक भन्छन्, ‘सडक हिँड्न, गाडी गुडाउन बनाइएको हो।

रमिता देखाउन होइन। यति कुरा त शिक्षकहरुले पनि बुझ्नुपर्ने हो । तर, शिक्षित भनिएकाहरुको व्यवहार अनपढजस्तो छ । अनि यस्ता शिक्षकले पढाएका विद्यार्थी कस्ता होलान्।

राप्रपाले निषेधित क्षेत्र तोड्ने बताएपछि गृह मन्त्रालयले सो आन्दोलनमा सहभागी नहुन सार्वजनिक सूचना नै निकाल्यो । यतिमात्र होइन, अध्यक्ष राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङहरुलाई सिंहदरबारबाटै समातियो । सरकारले राप्रपाको आन्दोलन देख्यो तर शिक्षकहरुले आन्दोलनका नाममा सडक कब्जा गरेर नागरिकलाई दुःख दिइरहँदा देख्दैन ।

शिक्षकहरु राजनीतिक दलका कार्यकर्ता हुन् । काँग्रेस, एमाले, माओवादीका झोले । अनि आफ्ना कार्यकर्ताले सडक कब्जा गरेर रमिता देखाउँदासमेत दलहरु मौन छन् । सरकार टुलुटुलु हेरेर बसिरहेको छ । यहाँ सरकारकै दोहोरो चरित्र छ । एउटा आन्दोलनलाई दबाउन खोज्ने, अर्को आन्दोलनलाई चाँहि प्रोत्साहन गर्ने ।

शिक्षकहरुले जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । पोशाक पनि सर्वसाधारणकै करबाट किनिएको लगाउँछन् । अनि जनताकै छोराछोरी पढाउन छोडेर उनीहरु सडकमा रमिता देखाइरहेका छन् । अब सरकारले तत्काल माइतीघर–नयाँ बानेश्वर सडकखण्ड खाली गराउनुपर्छ । गृह मन्त्रालयले नसके रक्षा मन्त्रालयले सेना खटाएर भएपनि सडक खाली गर्नुपर्छ ।

किनकि आन्दोलनका नाममा सडक कब्जा गर्ने, नागरिकलाई दुःख, हैरानी दिने अधिकारी कोहीसँग छैन । शिक्षक आन्दोलनको यत्रो दिन भइसक्यो । यस अवधिमा लाखौं लाख सर्वसाधारणले कयौं दुःख, हैरानी भोगिसके । काठमाडौं देशको राजधानी हो । आन्दोलन गर्ने ठाउँ होइन। राजधानीजस्तो क्षेत्रमा सडक कब्जा गरेर शिक्षकहरु रमिता देखाउनु कति उचित हो ? तैपनि सरकार नजरअन्दाज गरिरहेको छ ।

अब सरकारले तत्काल कदम नचाल्ने हो भने जनता आफैं शिक्षकहरुको प्रतिरोधमा उत्रिने छन् । शिक्षकहरुप्रति जनताको आक्रोश दिनप्रति दिन बढिरहेको छ । उनीहरु भन्छन्, ‘पढाउन मन लाग्दैन, अनि सडकमा रमिता देखायो । यस्ता शिक्षकहरुको त नियुक्तिपत्र खारेज गरिनुपर्छ।

हुन त अहिलेका शिक्षकहरुको योग्यता विद्यार्थीको नतिजाबाटै छर्लंग हुन्छ । हरेक वर्ष कक्षा आठ र एसईईको नतिजामा सरकारी तथा सामुदायिक विद्यालय पछाडि पर्ने गरेका छन् ।

सरकारी विद्यालयको गुणस्तर खस्ँिकदै गएको छ । सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुको शैक्षिक अवस्था कहालीलाग्दो छ । विद्यालय गएपनि नगएजस्तो देखिन्छ । किनकि पढाउने शिक्षक कक्षा कोठामा कम दलको कार्यक्रममा बढी सहभागी हुन्छन्।

सरकारी विद्यालयमा जाँदा कक्षा कोठामा शिक्षक भेट्न मुस्किल पर्छ । त्यो पनि विशेष गरी दुर्गम, ग्रामीण क्षेत्रमा । शहरी इलाकामा पनि विद्यार्थी पढाउन छोडेर शिक्षकहरु दलको कार्यक्रममा सहभागी भएको देखिने गरिन्छ।

निजी विद्यालयमा मासिक दशदेखि १५ हजार रुपैयाँ तलबमा शिक्षकहरु विद्यार्थी पढाउँछन्। विद्यार्थीको नतिजा राम्रो आउँछ । निजीमा फेल हुने विद्यार्थी सायदै भेटिन्छन्। तर, सरकारी विद्यालयका शिक्षकहरु मासिक ३० हजारदेखि ७० हजार रुपैयाँसम्म तलब खाएरसमेत पढाउँदैनन्। सरकारी विद्यालयकै विद्यार्थीहरु बढी फेल हुने गरेका छन्।

अहिले सेवासुविधा बढाउनुपर्ने माग गर्दै सडकमा ओर्लिएका शिक्षकहरुलाई जनता सोध्छन्, ‘के तपाईंहरुले आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्नुभएको छ ? यदि गर्नुभएको छ भने किन विद्यार्थी अझै फेल भइरहेका छन् ?

शिक्षकहरुले जनताको छोराछोरीको भविष्यमाथि खेलबाड गरिरहेका छन् । सेवासुविधाका निम्ति लाखौं लाख बालबालिकाको भविष्य अन्धकारमा पार्ने काम गरिरहेका छन्।

यस्तो हुँदा स्थानीय सरकारहरु भने धमाधम शिक्षकहरुको तलब खातामा हाल्दिरहेको छ । शिक्षकहरुले विद्यार्थी पढाइरहेका छन् र स्थानीय सरकारले खातामा तलब हालिदिन ?

अब देशभरका स्थानीय तहहरुले शिक्षकको तलब रोक्नुपर्छ। विद्यालय नफर्किए तलब निकासा नगर्ने बताउनुपर्छ । तैपनि शिक्षकहरु नफर्किए नियुक्तिपत्र खारेज गरी नयाँ शिक्षक भर्ति प्रक्रिया अघि बढाउनुपर्छ। शिक्षा निकै संवेदनशील क्षेत्रमा पर्छ। यो राजनीति गर्ने क्षेत्र होइन। विडम्बना, अहिले शिक्षा क्षेत्रमा राजनीति भइरहेको छ।

आफ्नो फाइदाका निम्ति शिक्षक महासंघले देशभरका शिक्षकलाई जबरजस्ती आन्दोलनमा ल्याएको छ । एउटा शिक्षकबाट पदअनुसार महासंघले मासिक एक हजारदेखि तीन हजार रपैयाँसम्म लेबी उठाउने गर्छ। र, त्यही पैसाबाट महासंघले आन्दोलन गरिरहेको छ । अब सरकारले महासंघका प्रतिनिधिहरुलाई कारबाही गर्नुपर्छ।

किनकि शिक्षा क्षेत्रमा राजनीति गर्ने अधिकार कसैसँग छैन। अहिले शिक्षकहरु बाटोमै हाजिर गरिरहेका छन् । उनीहरुले विद्यार्थी पढाएका छन् र हाजिर गर्न ? फेरि त्यो हाजिरी कपी विद्यालयको हो।

कानूनमा सरकारी कागजात बाहिर लैजान नपाउने भनिएको छ। अनि शिक्षकहरुले हाजिरी कपी नै चोरेर ल्याई सडकमा हाजिर गरिरहँदा सरकार के हेरिरहेको छ ? स्थानीय सरकार किन मौन छ ?

हुन त शिक्षकहरु पनि भ्रष्टाचारीमा पहिलो नम्बरमै पर्छन् । विद्यार्थीका लागि आएका स्टेशनरी सामग्री लगेर बेचिदिन्छन् । विद्यार्थीको खाजामा समेत भ्रष्टाचार गर्छन् । २० जना विद्यार्थी भएमा ५० जनाको लिस्ट बनाएर सरकारबाट बढी रकम असुल्छन्।

साथै, विद्यालयको भौतिक निर्माणका लागि आएको बजेटमा समेत भ्रष्टाचार गर्छन्। शिक्षकहरुका कारण सरकारी विद्यालय बदनाम बन्दै गएको छ।

जनताका छोराछोरीको भविष्यमाथि असर परिरहेको छ। त्यसैले, अब सरकार तात्न आवश्यक भइसक्यो। सरकारले कदम चाल्न अझै ढिला गर्ने हो भने जनता आफैं कारबाहीमा उत्रिने छन्। सरकारलाई कर तिर्ने छैनन् अनि सडकमा ओर्लिने छन् शिक्षकहरुको विरोधमा।

राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले शिक्षकहरुलाई थप हौसाएका छन्। जनताको पक्षमा लेख्नुपर्नेमा भ्रष्टाचारी शिक्षकहरुको गुनगान गाएको भन्दै जनता दैनिक पत्रपत्रिकासँग समेत आक्रोश भएका छन्। उनीहरु भन्छन्,शिक्षकका कारण हामीले पाएको दुःख, हैरानी पत्रपत्रिकाले देखेनन्।

विद्यार्थीहरुको भविष्य अन्धकारमा परेको समेत देखेनन्। तर, शिक्षकहरुको माग चाँहि देखे। त्यसैले, अब हामी पनि दैनिक पत्रपत्रिका किन्दैनौं, हेर्दैनौं।