शिक्षकमाथि संकट थपिदै: सरकार उदासिन,अभिभावक खतरा बन्ने संकेत

काठमाडौं। शिक्षकहरु सडकमा उत्रेको  आज (साेमबार) २० दिन पुगिसक्यो। बानेश्वरदेखि माइतीघरसम्मको मुख्य सडकमा भेला भएका शिक्षकको आन्दोलनका कारण सडक जाम मात्रै भएको छैन्,यातायात,मजदुरको रोजीरोटी समेत खतरामा परेको छ। यता,सर्वसाधारण पनि सडक प्रयोगबाट तनाव खेपिरहेका बेला विद्यार्थीको भविष्य समेत थप अन्योलतातर्फ होमिएको छ।

पछिल्ला २० दिन यता शिक्षकहरु काठमाडौंका सडकमा छरिएका देखिन्छन्। शिक्षा ऐनको माग उनीहरुको एजेण्डा छ। यसै एजेण्डालाई सडकबाटै दबाब दिइ स्थापित गराउने उनीहरुको उद्देश्यक छ।

माइतीघरदेखि नयाँबानेश्वरसम्मको सडक छेकेर प्रदर्शन गरिरहेका शिक्षकको आन्दोलनले सडक जाम मात्रै भएको छैन्,यातायात, मजदुरको रोजीरोटी समेत खतरामा परेको छ। यता,सर्वसाधारण पनि सडक प्रयोग गर्नसमेत तनाव खेपिरहेका छन्।

शिक्षकहरुले विभिन्न माग राख्दै गरेको आन्दोलन लम्बिदै जाँदा सामूदायिक विद्यालयको भर्ना समेत प्रभावित बनिरहेको छ भने कक्षा १२ को परीक्षा समेत अन्योलतामा धकेलिएको छ।

यस्तोमा शिक्षकहरु आन्दोलन नरोक्ने र ऐन अनिवार्य भनिरहेका छन्। यसले नेपालको समग्र शिक्षा प्रणालीमै संकट आउने खतरा देखिएको छ। आन्दोलनमा रहेका शिक्षकहरुले भनिरहेका छन्,ऐन नआएसम्म आन्दोलन रोकिन्न। कक्षा १२ को परीक्षामा सहभागि हुन्नौं।

सडकमा नाचगानदेखि रमाइलो गर्दै आन्दोलन गरिरहेका शिक्षकहरुले सेवा सुविधा, वृद्धि विकासदेखि स्थायीसम्मका मागहरु राखिरहेका छन्। यस्तोमा शिक्षक आन्दोलन समस्याको रुपमा देखिन मात्रै थालेको छैन्,लाखौं विद्यार्थीको भविष्यमाथिको संकटको रुपमा समेत देखा पर्न थालेको छ।

सडकमा उत्रिएका शिक्षकहरुले मागिरहेको ऐन बैशाख २३ अघि सम्भव नरहेको सरकारले भनिरहेको छ। सरकारले शिक्षा ऐन बैशाख २३ गते संसदमा पेश गर्ने गरि तयारी गरिरहेको भन्दै जायज माग पुरा हुने भनिरहेको छ। तर, शिक्षकहरु माग पुरा नभएसम्म आन्दोलन नछाड्ने भनिरहेका छन्।

यस्तो स्थितिले के देखिन्छ भने कम्तिमा पनि वैशाख २३ गतेसम्म शिक्षक आन्दोलन चल्नेछ। तर, कक्षा १२ को परीक्षा यहि ११ गतेबाट सञ्चालन गर्ने कार्यतालिका छ। यसरी परीक्षामा सहभागी नहुने भनिरहेका शिक्षकका कारण अब शैक्षिक संकट आउने खतरा बढ्न थालेको छ।

अभिभावक आन्दोलित बन्ने खतरा बढ्दै  

शिक्षकहरुले सडकमा आफ्ना माग राख्दै गरेको आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्योलतातर्फ जाने निश्चित बन्न थालेको स्थितिमा लाखौं विद्यार्थीका अभिभावकहरु आन्दोलनमा आउने खतरा समेत बढ्दै गएको छ।

अभिभावक संघहरुले पनि शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्यमा असर पर्न नदिन के गर्न सकिन्छ भन्ने छलफल गर्न थालेका छन्। यस्तो स्थितिले अभिभावक पनि आन्दोलित बन्ने स्थिति बनेमा शिक्षक आन्दोलन, सरकार र अभिभावकबीचको द्वन्द्ध थप चर्किनेछ। जुन विषयले समग्र शैक्षिक प्रणालीमाथि नै ठूलो संकट आउने खतरा देखिन्छ।

त्यस्तै शिक्षकहरु सडकमा आउने कुरा सरकारलाई पहिले नै थाहा थियो। यस्तो स्थितिमा सरकारले पनि कानून निर्माणका लागि पर्याप्त ध्यान दिन उचित ठानेन्।

दलीय रुपमा हुने शिक्षकका संगठनहरुले नै आन्दोलन माथि आउन दिन्नन भन्ने ठानेका दुई ठूला सत्तारुढ दलहरुको अनुमान ठिक उल्टो बन्न पुग्यो। सरकारले माग पुरा गर्ने विषयलाई हल्का रुपमा लिदा शिक्षक आन्दोलन अब ऐन बाहेक स्थगित गर्ने स्थिति समेत देखिन्न।

नियन्त्रण गुमाइसकेको आन्दोलन अबको निकासका लागि समेत संघर्षरत देखिन्छ। तर, सरकारले समयमै पहल थाल्न नसक्दा स्थिति थप बिग्रिदै गएको छ। सरकार उदासिन भएकै कारण शिक्षकहरु सडकमा हुने र विद्यार्थीको भविष्य डामाडोल हुने स्थिति बनेमा यसले मुलुकको शिक्षा प्रणालीमाथि नै ठूलो प्रभाव पार्नेछ।