वैशाखमा यी ८ संघीय अस्पतालमा १५ सेवा थपिँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख महिनाभर विभिन्न ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने भएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले संघीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्तर्गत बैशाख महिनाभर संघीय अस्पतालहरुमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार वैशाख महिनामा वीर, भरतपुर क्यान्सर अस्पताल, भक्तपुर, धनगढीको गेटा, पोखरा, भेरी अस्पताल, जि।पी कोइराला तनहुँ र नारायणी अस्पतालमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम छ।

वीर अस्पतालले सर्जिकल आइसीयूको सेवा विस्तार गर्नेछ । वैशाख दोश्रो साता वीरको आइसीयूमा नौ शैय्या थप गर्ने कार्यक्रम राखिएको छ।

त्यस्तै भरतपुर अस्पतालले क्याथ ल्याब सेवा शुरु गर्दैछ । यसैगरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा वैशाख अन्तिमसम्म थप गरिसक्ने विवरण मन्त्रालयमा पठाएको छ ।

भक्तपुर क्यान्सर अस्पतालले पीआइसीयू तथा पेडियाट्रिक वार्ड वैशाख दोश्रो साता आरम्भ गर्दैछ। भेरी अस्पतालले मृगौला प्रत्यारोपण सेवा वैशाख दोश्रो साताबाट आरम्भ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शैय्या वैशाख अन्त्यसम्ममा थप गर्नेछ । यसैगरी नारायणी अस्पताल वीरगञ्जले वैशाख अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ भने जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा वैशाख तेश्रो साता औपचारिक सञ्चालनमा ल्याउनेछ ।

धनगढीको गेटा अस्पतालले भने वैशाख तेश्रो साताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकै साथ थाल्नेछ । मन्त्रालयका प्रवक्ता डा। बुढाथोकीले चालु आर्थिक वर्षभित्रै थप संघीय अस्पतालमा सेवा विस्तारका कार्यक्रम कार्यान्वयन क्रममा रहेको जानकारी दिए ।