प्रधानमन्त्रीकै दबाबका कारण राजीनामा दिन बाध्य शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा बुझाएकी हुन् ।

शिक्षकहरूको लामो समयदेखिको आन्दोलन र विद्यालय शिक्षा ऐन सम्बन्धी मागहरू सम्बोधन गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएको बताएकी छन् । तर, स्रोतका अनुसार, प्रधानमन्त्री ओलीसँगको मतभेद र उनको दबाबका कारण भट्टराई राजीनामा दिन बाध्य भएको दाबी गरिएको छ।

प्रधानमन्त्री ओलीको शिक्षक आन्दोलनका विषयमा गरिएका टिप्पणीप्रति मन्त्री भट्टराई असन्तुष्ट थिइन्। पार्टीको बैठकमा पनि उनले प्रधानमन्त्रीको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन्।

शिक्षकहरूको २० दिनदेखिको काठमाडौं केन्द्रित आन्दोलनले सरकारलाई दबाबमा पारेको छ। शिक्षा ऐन सम्बन्धी मागहरू पूरा गर्न सरकारले ठोस कदम चाल्न नसकेपछि मन्त्री भट्टराईमाथि प्रश्न उठेको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलनलाई लिएर मन्त्री भट्टराईको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । तर, प्रधानमन्त्री ओलीले उल्टै मन्त्री भट्टराईको कार्यक्षमता प्रश्न उठाएका थिए ।

प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलप्रति बारम्बार असन्तुष्टि जनाउँदै आएका छन्। आजै पनि उनले शिक्षक आन्दोलनका नाममा कहिले जादु देखाएको,कहिले कविता सुनाएको,कहिले गीत गाएको भनेर आलोचना गरेका छन्।

कीर्तिपुरमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ऐन ल्याएको जस लिनलाई सडकमा आउन आवश्यक नरहेको समेत बताए ।

उनले भने,अब ऐन लिएर जाने भन्नु भएको छ,यत्रोविघ्न मान्छे सडकमा किन ? ऐन बोक्न यत्रो मान्छे चाहिन्छ ? ऐन त संसद्‍मा छलफल हुँदैछ। उपसमितिमा छ। त्यसपछि मूल हाउसमा आउँछ। संसद्‍बाट पारित हुन्छ। ऐन त आउँछ नै। यी सबै ऐन जति ल्याएका छन्, सडकमा मान्छे आएर आएका छन् ऐन ?

ओलीले थपे,हामीले ऐन ल्यायौं भन्ने पार्नका लागि यत्रो दुःख कि गर्नुपर्‍यो रु तपाईंहरुले नै ल्याएको हो ऐन। तपाईंहरु हुनुहुन्छ र त ऐन बन्यो नि। तपाईंहरु नभए ऐन कसरी बन्छ ?

मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग पटक/पटक भेटघाट गरी शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफलमा रहेको र चाँडै टुंग्याउने प्रतिबद्धता जनाएकी थिइन्।

तर, शिक्षा मन्त्रालयले वार्ताका लागि शिक्षकहरूलाई आह्वान गरे पनि सहमति जुट्न सकेन । शिक्षकहरूले मन्त्रीको राजीनामाले मात्र आन्दोलन नरोकिने र शिक्षा ऐन नआएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।

दबाबमा प्रधानमन्त्री

शिक्षामन्त्री भट्टराईले पदबाट राजीनामा दिएसँगै शिक्षकहरूको मागका सम्बन्धमा सरकार दबाबमा परेको छ। सरकारले शिक्षकहरूको माग पूरा गर्न प्रतिबद्ध रहेको आश्वासन दिँदै जारी आन्दोलन स्थगित गर्न आग्रह गरे पनि शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन्।

आजै मन्त्रीपरिषद् बैठक बसिरहेको र सो बैठकमा यस सम्बन्धमा केही निर्णय हुने अपेक्षा गरिएको छ। मन्त्री भट्टराईको राजीनामापछि सरकारले कसरी यो संकट समाधान गर्छ, त्यो आगामी दिनमा देखिनेछ।