सन्दर्भ : १५६ औं लेनिन जन्न्ती: लेनिनवाद, साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विज्ञान

 ” लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको   युगको मार्क्सवाद हो।” – स्टालिन 
 
आज २२ अप्रिल। आजकै दिन अर्थात् सन १८७० अप्रिल २२ का दिन अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता तथा लेनिनवादका प्रतिपादक भ्लादीमिर इल्यीच लेनिनको रुसको भोल्गा नदीको किनारमा भएको दिन हो । त्यसैले २२ अप्रिल अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक दिन हो । 
     
महान् लेनिन लेनिनवादका प्रतिपादक र सिध्दान्तकार तथा मार्क्सवादको यस धर्तीमा  पहिलो व्यवहारिक एवं सफल प्रयोगकर्ता हुनुहुन्छ । आज  सन २०२५ अप्रिल २२ भएकोले आज विश्व सर्वहारा वर्ग , श्रमजीवीवर्ग , उत्पीडित राष्ट्र तथा जनसमुदाय एवं कम्युनिस्ट क्रान्तिकारीहरुले महान् लेखिएको १५६ आौं जन्म दिवस धुमधामका साथ सगौरव संसारभर  मनाउन गइरहेका छन् ।  यस ऐतिहासिक अवसरमा यस आलेखमा लेनिन र  लेनिन जन्म जयन्ती मनाउनुको महत्त्व तथा यसको सार्थकता, लेनिनवमदको महत्त्व र लेनिनवादको सान्दर्भिकता आदि बारेमा लेख्न प्रयत्न गरिएको छ ।
       
रुसमा सन। १८८३ मा पहिलो मार्क्सवादी समुहको विकास भएको थियो । त्यो प्लेखानोवको नेतृत्वमा गठन गरिएको मजदुर मुक्त दल थियो । त्यो नै रुसमा निर्माण भएको कम्युनिस्ट पार्टी थियो । त्यसलाई लेनिनले नयाँ ढंगले विकास गर्नुभएको थियो । 
   
लेनिनको जन्म सन १८७० अप्रिल २२ का दिन विश्व प्रसिद्ध भोल्गा नदीको किनारमा रहेको रुसको सिम्बिर्स्क एक सुन्दर  नगरीमा भएको थियो । र , मृत्यु सन १९२४  जनवरी २१ का दिन गोर्की हिल्समा भएको थियो । 
       
लेनिन लेनिनवादका प्रवर्तक , मार्क्सवादका पहिलो व्यवहारिककर्ता , महान् रुसी अक्टोबर समाजवादी क्रान्ति र रुसमा वैज्ञानिक समाजवादका संस्थापक हुनुहुन्छ । लेनिनवाद के हो  भन्ने विषयमा यहाँ संक्षिप्त रुपमा यसप्रकार रहेको छ: 
     
मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो। मार्क्सवादी अर्थशास्त्रका क्षेत्रमा पुँजीवादको चरम र अन्तिम अवस्था साम्राज्यवादको व्याख्या ,विश्लेषण र संश्लेषण गरेर साम्राज्यवादको नामाकरण गर्नु र जसलाई साम्राज्यवाद भनेको एकाधिकार पुँजीवाद , सडिरहेको पुँजीवाद र मरणासन्न पुँजीवाद ,र सर्वहारा क्रान्तिको पूर्वबेला ठेगान गर्नु भनेको लेनिनवादको पहिलो महत्त्वपूर्ण पक्ष हो  भने दोस्रो पक्ष भनेको पार्टी संगठनका क्षेत्रमा ” जनवादी केन्द्रीयताको सिध्दान्त ” हो।
 
जस्तो : “केन्द्रको निर्देशन र तलको जनवाद , सम्पूर्ण पार्टी सदस्यहरु केन्द्रीय समितिको अधिनस्त रहने , अल्पमत बहुमतको अधिनस्त रहने , सम्पूर्ण पार्टी संगठनहरु केन्द्रीय समितिको मातहतमा रहने र पार्टीको सर्वोच्च अंग राष्ट्रिय महाधिवेशन हुने ” जनवादी केन्द्रीयताको सिध्दान्त हो , जसलाई लेनिनवादी संगठनात्मक सि्ध्दान्त भनिन्छ । यसलाई लेनिनले विकसित तुल्याउनु भएकोले यसलाई लेनिनवादी संगठनात्मक सिध्दान्त भनिएको हो । 
 
  लेनिनवाद भनेको के हो ?
  मार्क्सवाद सर्वहारा वर्गको मुक्तिको सिध्दान्त हो । मार्क्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यसको सिध्दान्त भौतिकवाद हो भने पध्दति द्वन्द्ववाद हो । मार्क्सवाद एक गतिशील वैज्ञानिक सिध्दान्त हो । मार्क्सवाद क्रान्तिको विज्ञान हो । यसको विकास पुँजीवादको प्रारम्भिक अवस्थामा भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद , अतिरिक्त मूल्यको सिध्दान्त , वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद मार्क्सवादका आधारभूत मान्यता हुन् ।
         
यही मार्क्सवादको विकासको गुणात्मक विकासको दोस्रो चरणलाई लेनिनवाद भनिन्छ । कार्ल मार्क्सले सबै पुँजीवादी देशहरूमा समाजवादी क्रान्ति सम्पन्न भए पछि मानव समाज वैज्ञानिक साम्यवादमा पुग्नेछ भन्नुभएको थियो । र , उहाँले  बेलायत , जर्मनी र फ्रान्समा पहिले समाजवादी क्रान्ति हुनेछ भन्नुभएको थियो। तर लेनिनको समयमा आइपुग्दा पुँजीवादले साम्राज्यवादमा विकास गर्यो। र , पुँजीवादी तथा साम्राज्यवादी कुनै पनि मुलुकमा समाजवादी क्रान्ति हुन सक्ने भन्दै सशस्त्र सर्वहारा क्रान्तिका रणनीति र कार्यनीति ठोस गर्नु भयो । त्यसबेला पुँजीवादले साम्राज्यवादमा प्रवेश गरेको ,उत्पादक शक्ति , सर्वहारा आन्दोलन तथा ज्ञान – विज्ञानका विविध  क्षेत्रमा थप प्रगति हुदै गएको र त्यसप्रकारको नयाँ परिस्थिति अनुरुप मार्क्सवादलाई नयाँ उँचाइमा विकास गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवादको जन्म भएको हो । अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता भल्दिमिर इल्यिच लेनिनद्वारा लेनिनवादको प्रतिपादन भएको हो । 
   
लेनिनद्वारा लेनिनवादको प्रतिपादन हुनुका अन्य आधारहरुमा मार्क्सवादको प्रतिपादन हुनुपछि अर्थात् लेनिनको समयमा आइपुग्दा प्रकृतिविज्ञानमा पनि थप प्रगति हुँदै गएको थियो , इलेक्ट्रोनको क्षेत्रमा नयाँ नयाँ खोज हुँदै गए अलवर्ट आइन्सटाइनद्वारा सापेक्षतावादको सिध्दान्त प्रकाशमा आयो ।
 
त्यस प्रकारको विश्व परिस्थितिमा कैयौं आदर्शवादी प्रकृतिक वैज्ञानिक र दार्शनिकहरुले पदार्थ लोप हुँदै भयो भन्दै भौतिकवादमाथि प्रहार गर्न थाले । एकातिर त्यो स्थिति र अर्कोतिर साम्राज्यवादको जन्मको कारण मजदुर आन्दोलनमा अभिजात वर्गको प्रादूर्भावबाट संशोधनवाद प्रकट भयो र त्यसले मार्क्सवादको गंभीर तोडमरोड गर्न थाल्यो । साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिका कामहरूलाई अगाडि बढाउनु पर्ने आवश्यकताको परिपूर्ति लेनिनवादबाट भएको हो ।
   
 लेनिनले रुसमा आफ्नै नेतृत्वमा सन १९१७ अक्टोबर २५ ( रुसी नयाँ क्यालेन्डर अनुसार सन १९१७ नोभेम्बर ७ ) का दिन रुसमा पुँजीवादी जनवादी तथा  महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरेर पहिलोपटक मार्क्सवादको सफल प्रयोग गर्नुभएको हो । यसै प्रक्रियामा लेनिनले सन १९१९ मा।तेस्रो अन्तर्राष्ट्रियको गठन गर्नुभएको थियो । वास्तवमा लेनिनवाद के हो ? विश्व सर्वहारा वर्गका अर्का नेता स्टालिनले भन्नुभएको छ , ” लेनिनवाद भनेको साम्राज्यवाद र।सर्वहारा क्रान्तिको युगको मार्क्सवाद हो । वहाँलेअझै अगाडि भन्नुभएको छ , लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको सिध्दान्त तथा कार्यनीति र विशेषतः सर्वहारा वर्गको अधिनायकतन्त्रको सिध्दान्त र कार्यनीति हो ।” – स्टालिन : लेनिनवादका आधारहरु , स्टालिनका छानिएका रचनाहरु पृष्ठ ९० , पैरवी प्रकाशन , काठमाडौं , २०६४ ।
     
लेनिनवादी सिध्दान्त , विश्वदृष्टिकोण र शिक्षाको बारेमा कमरेड माओ त्सेतुङले भन्नुभएको छ , ” लेनिनवादको सिध्दान्तले मार्क्सवादको विकास गरेको छ । यो कुन सन्दर्भमा भएको छ ? प्रथम : विश्वदृष्टिकोणमा , भौतिकवाद र द्वन्द्वात्मक र द्वितीय : क्रान्तिको सिध्दान्त र कार्यनीतिमा विशेषतः वर्गसंघर्ष , सर्वहारा वर्गको अधिनायकत्व र सर्वहारा वर्गको राजनीतिक पार्टीका प्रश्नहरुमा र यसका साथै वैज्ञानिक समाजवादी  निर्माणमा लेनिनका शिक्षाहरु रहेका छन् ।” – ” Selected Works  Of Mao Tse Tung vol  V , P. 341 – 342 , Foreign Languages Press  Peking , First Edition 1977.
     
लेनिनले मार्क्सवादी विश्वदृष्टिकोणमा जुन नयाँ उँचाइ थप्नु भएको छ , त्यसका मूल विशेषताहरु निम्न रहेका छन् : 
 
(१) पदार्थको लोप भयो भन्ने आदर्शवादी प्रकृति वैज्ञानिक तथा दार्शनिकहरु र संशोधनवादीहरुका विरुद्ध लेनिनले विज्ञानका थप विकसित सामाग्रीका आधारमा द्वन्द्वात्मक भौतिकवादका दार्शनिक मौलिक प्रश्नमा नयाँ आयाम प्रदान गर्नुभएको छ ।
 
(२) लेनिनले द्वन्द्ववादी पध्दतिको व्याख्या , विश्लेषण र परिमार्जन गरि त्यसमा अग्रिम विकास र मूर्तिकरण गर्नुभएको छ । वहाँले भँडुवा
विकासवादका विरुद्ध संघर्ष गरि द्वन्द्ववादको विपरीतहरुको एकता र गुणात्मक छलाङ्गको सिध्दान्तमा नयाँ आयाम थप्नु भएको छ ।
 
(३) द्वन्द्वात्मक भौतिकवादको ज्ञान – सिध्दान्तमा प्रतिबिम्बनको सिध्दान्त , ज्ञानको चक्रता तथा बहुविधताबारे लेनिनले कैयौं नयाँ कुराहरुको उजागर गर्नुभएको छ ।
 
(४) ऐतिहासिक भौतिकवादको क्षेत्रमा समाज विकासका उत्प्रेरक शक्तिको अवमूल्यन गर्ने आत्मपरतावाद , चेतनाको भूमिकालाई नकार्ने स्व: स्फूर्तवाद , जनताको भूमिकालाई निषेध गर्ने अराजकतावाद , सामाजिक चिन्तन र सामाजिक सत्तालाई एउटै ठान्ने तथा उत्पादक शक्तिको सिध्दान्तको पूजा गर्ने संशोधनवादका विरुद्ध लेनिनले कडा संघर्ष चलाउनु भयो ।साम्राज्यवादको सारतत्वलाई एकाधिकार पुँजीवादका रुपमा आौंल्याई सर्वहारा क्रान्तिको सिध्दान्तलाई विकास गर्ने , सर्वहारा अधिनायकत्वको सिध्दान्तलाई परिमार्जित गर्ने ,साम्राज्यवादको युगमा युध्दको अपरिहार्यता र हिंसापूर्ण क्रान्तिको अनिवार्यतालाई व्यवस्थित रुपमा सैध्दान्तिककरण गर्ने क्रममा लेनिनको उल्लेखनीय भूमिका रहेको छ ।
 
(५) मार्क्सवादी – लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिको,कार्यदिशासंग गाँस्ने, वर्गदुश्मन तथा संशोधनवादका विरुद्ध वर्गसंघर्ष र दुईलाइन संघर्षका समस्याहरुको समाधान गर्दै समाजवादको स्थापना तथा निर्माण गर्ने काममा लेनिनको भूमिका अद्वित्तिय रहेको छ ।
 यसरी लेनिनवादलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्क्सवादको रुपमा परिभाषित गरिएको छ।
यो  सामान्यतया सर्वहारा क्रान्तिको सिध्दान्त र रणनीति तथा विशेषगरी सर्वहारा वर्गको अधिनायकत्वको सिध्दान्त र रणनीति हो । साम्राज्यवादको विरोध गर्न र शोषण र उत्पीडनबाट मजदुर वर्ग र उत्पीडित जनताको मुक्तिको लागि लड्न चाहनेहरुका लागि लेनिनवादको सिध्दान्त र अभ्यास आवश्यक छ ।
  लेनिनले साम्राज्यवादको विहंगमम व्याख्या गर्नुभएको छ । वहाँले साम्राज्यवादलाई  एकाधिकार पुँजीवाद , सडिरहेको पुँजीवाद र मरणासन्न पुँजीवाद गरी तीनवटा विशेषतनकाबारेमा विहंगमम व्याख्या गर्नुभएको छ र साम्राज्यवादलाई सर्वहारा क्रान्तिको पूर्वबेला बताउनु भएको छ । सन १९१६ मा लेनिनले पुँजीवादको अन्त्यको बारेमा ” साम्राज्यवाद : पुँजीवादको अन्तिम अवस्था ( Imperialism : The Highest Stage of Capitalism ) नामक पुस्तक लेखेर प्रष्ट व्याख्या गर्नुभएको छ ।
   
लेनिनले एक व्यवहारकुशल नेताको रुपमा विभिन्न सिध्दान्तहरुको प्रतिपादन गर्नुभएको छ । वहाँले विभिन्न दार्शनिक प्रश्नहरुको पनि व्याख्या गर्नुभएको छ । लेनिनले मार्क्सको द्वन्द्वात्मक भौतिकवादलाई आफ्नो पुस्तक ” भौतिकवाद र अनुभवजन्य आलोचना ” ” Materialism and Empiric Criticdim ” मा पुनर्व्याख्या गर्नुभएको छ । यसमा वहाँले दर्शनका विभिन्न प्रश्नहरुको व्याख्या र विश्लेषण गर्नुभएको छ । मार्क्सको द्वन्द्वात्मक भौतिकवादलाई लेनिनले नयाँ रुप दिनुभएको छ ।
 
लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विज्ञान :
       
आजको पनि लेनिनले विश्लेषण गर्नुभएको साम्राज्यवाद र सर्वहारा क्रान्तिबीचको भीषण संघर्ष कै युगमा छ। लेनिनले यो विश्लेषण गर्ने बेलाको विश्व परिस्थितिमा तमाम प्रकारका फेरब, उथलपुथल र परिवर्तन अवश्यै भएका छन् तर सारभूत रुपमा तात्वयिक परिवर्तन भएको छैन ।
 
अर्थात् आज पनि साम्राज्यवाद र विश्व सर्वहारा क्रान्ति कै अवस्था बलवान् भएर आएको छ । साम्राज्यवाद हिजोको जस्तो केन्द्रीकृत नभएर भूमण्डलीकृत अवस्थामा भए पनि विश्व सर्वहारा क्रान्तिका लागि आज पनि साम्राज्यवाद नै मुख्य दुश्मनका रुपमा खडा छ । साम्राज्यवादलाई परास्त नगरी विश्व सर्वहारा वर्गले वैज्ञानिक साम्यवाद निर्माण गर्न सक्तैन ।
 
त्यसो भएर आज विश्व सर्वहारा वर्गको काँधमा विश्व सर्वहारा क्रान्तिद्वारा वर्गबिहिन , राज्यबिहिन वैज्ञानिक साम्यवादको स्थापना गर्ने ऐतिहासिक जिम्मेवारी आइपुगेको छ , साम्यवादी रुपी नौलो संसार निर्माण गर्ने ऐतिहासिक कार्यभार पुरा गर्ने अविभारा बोकेको विश्व सर्वहारा वर्गको निम्ति लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको विज्ञान बन्न पुगेको छ ।
   
अन्त्यमा सन १९०५ को रुसी क्रान्ति असफल भए पछि जार शाहले भीषण दमन चलायो ।  हजारौं रुसी मजदुर र जनताहरुको हत्या गरियो । जारका  पुलिसबाट गिरफ्तार हुनबाट  बच्ने उद्श्येले लेनिन फिनल्यान्ड निर्वासनमा जानू भयो रुसमा प्रतिकाल शुरु भयो । 
       
फिनल्यान्डको पुरानो तथा ऐतिहासिक शहर तामपेरे स्थित तामपेरे वर्कर्स हल नामक भवनको तेस्रो तल्लामा सन १९०५ देखि १९०७ सम्म ३ वर्ष भवनमा बसेर लेनिनले पार्टी काम गर्नु भयो । त्यस हलमा स्टालिनसित लेनिनको पहिलोपटक भेट भयो र त्यही हलमा बसेर पार्टीका बैठकहरु बस्ने , पार्टीका सम्मेलनहरु गर्ने काम गरियो ।
     
सन १९४६ मा फिनल्यान्ड सोभियत संघ समाजद्वारा जुन हलमा लेनिन ३ वर्षसम्म भूमिगत रुपमा बसेर पार्टी काम गर्नु भएको थियो , त्यसलाई लेनिन संग्रहालय ( Lenin Museum ) बनाइएको थियो र यो लेनिन संग्रहालय सोभियत संघ बाहिर अन्य देशहरूमा बनाएको पहिलो र अन्तिम संग्रहालय हो।
 
यश ऐतिहासिक संग्रहालयमा महान् लेनिनकै जन्म दिनका दिन अर्थात आजै , सन २०२५ अप्रिल २२ तारिखमा फिनल्यान्डको एक पुरानो र ऐतिहासिक शहर तामपेरे ( Tampere ) स्थित तामपेरे वर्कर्स हल  ( Tampere Workers Hall ) मा पुगेर महान् लेनिन प्रति उच्च सम्मानका साथ सलामी चढाएर लेनिनवाद र लेनिनका शिक्षाबाट पाठ सिक्नुपर्ने सवालमा दृढता प्रकट गर्ने महान् लेनिन संग्रहालयको शैक्षिक अवलोकन गर्ने काम समेत सम्पन्न गर्दै लेनिनको बाटोमा अवचलित रुपमा अगाडि बढ्ने दृढता व्यक्त गरियो । 
     
मिति : २२ अप्रिल २०२५ 
         : ९ बैशाख २०८२
 
स्थान : लेनिन संग्रहालय , तामपेरे , पिरकान्मा , फिनल्यान्ड , युरोप ।
 
( लेखक : वरिष्ठ मार्क्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुनुहुन्छ ) ।