वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छ: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस भइरहेको बताएका छन्। तर, यो उनीहरूको दिवास्वप्न मात्रै भएको प्रचण्डको भनाइ छ।

विश्व सर्वहारा वर्गका नेता भीआई लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्।

यतिखेर एक थरी प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताका उपलब्धिहरू खोसेर नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस गर्दैछन्। तर, यो उनीहरूको दिवास्वप्न मात्रै हो।

‘किनभने संघर्षको जगमा प्राप्त उपलब्धिहरू नेपाली जनताले युगौँदेखि साँच्दै आएका सपना हुन्, जसको रक्षा र थप विकासबाट मात्रै हाम्रासामु देखिएका चुनौतीको सामना गर्दै समाजवादतर्फको यात्रामा अघि बढ्न सकिन्छ,’ प्रचण्डले भनेका छन्।

परिवर्तनका पक्षधरहरूका लागि यो नै आजको प्रमुख राष्ट्रिय जिम्मेवारी समेत बनेको प्रचण्डको भनाइ छ।