एमाले नेताको ओरालो यात्रा रोकिएन, पार्टी नै संकटमा पर्ने खतरा
काठमाडौं। नेकपा एमाले पार्टीको ओरालो यात्रा सुरू भएको विभिन्न संकेतहरू देखिन थालेका छन्। त्यस्तै ओरालो लागेको मृगलाई बाछोले पनि लखेट्छ भन्ने उखान यति बेला एमालेका नेतामाथि वा पार्टीका सचिव योगेश भट्टराईमा हुबहु लागू भइरहेको छ। आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट ‘बैगुनी केटा’ भनेर उपनाम पाएका भट्टराई जनताको नजरमा पनि ‘बैगुनी’कै रूपमा स्थापित भइसकेका छन्।
कुनै समय निकै आशा गरिएका नेता भट्टराईको राजनीतिक भविष्य पछिल्लो समय ओरालो लाग्दै आएको छ। २०७६ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेपछि सुरु भएको उनको राजनीतिक संघर्ष अझै अन्त्य भएको छैन। हालै उनको गृह जिल्ला ताप्लेजुङको पाथीभरा क्षेत्र अर्थात् मुक्कुलुङमा केबलकार बनाउने विषयले त उनी झनै विवादमा तानिएका छन्।
केबलकार निर्माणको पक्षमा दृढ अडान लिएका भट्टराई कहिले आफ्नै जिल्ला प्रवेशमा रोक लाग्छ त कहिले शौचालयभित्र थुनिनुपर्ने अवस्था आइपर्छ। गत शुक्रबार भट्टराई पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेसहित हेलिकप्टर चढेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, लेलेपमा आयोजित कञ्चनजंघा हिरक महोत्सवको उद्घाटन कार्यक्रममा पुगेका थिए। तर, उनी त्यहाँ शौचालयभित्र थुनिनुपर्ने अवस्था आइपर्यो।
उद्घाटन कार्यक्रम सम्पन्न भएपछि पहिचानवादी समूहले भट्टराईविरुद्ध नाराबाजी सुरु गर्यो। अवस्था तनावपूर्ण बनेपछि सांसद् भट्टराई कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भवनमा रहेको शौचालयमा पसे। पर्यटन मन्त्री पाण्डे भने हेलिकप्टर नजिक पुगिसकेका थिए।
स्थिति असुरक्षित देखिएपछि प्रहरीले शौचालयको ढोका बाहिरबाट चुकुल लगायो। केही समयपछि अवस्था सामान्य भएपछि प्रहरीले चुकुल खोलेर भट्टराईलाई बाहिर निकाल्यो र हेलिकप्टरसम्म सुरक्षा दिँदै काठमाडौं पठायो। प्रहरीले नाराबाजीमा उत्रिएको भीडलाई तितरबितर पार्दै नेता भट्टराईलाई उनी चढ्ने हेलिप्टरसम्मै सुरक्षा दिनुपर्यो। जसको चर्चा र ट्रोल अहिले सामाजिक सञ्जालभरि व्यापक छ।
आफू शैचालयमा थुनिएको विषय सामाजिक सञ्जालमा व्यापक भएपछि नेता भट्टराईले पनि सामाजिक सञ्जालमार्फत नै एकता र सद्भाव कायम राख्न अनुरोध गरेका छन्। नेता योगेश भट्टराई शौचालयमा थुनिएको विषयले सामाजिक सञ्जालमा चर्चा चुलिँदा उनको एक पुरानो फेसबुक स्टाटस पनि फेरि भाइरल बनेको छ।
२०७७ मंसिर ३ गते, तत्कालीन नेकपा (एकीकृत) भित्रको विवादलाई लक्षित गर्दै उनले “सर्वाधिक कठिन समय” भोगिरहेको उल्लेख गरेका थिए। अहिले त्यो स्टाटस सामाजिक सञ्जालमा पुनः चर्चामा आएको छ।
गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीचको झडपपछि सुरु भएको आन्दोलन चर्कँदै गयो। ताप्लेजुङ रणमैदान बनिरहँदा अभिभावकीय भूमिका खेल्नुपर्ने ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भने आन्दोलन शान्त पार्नुभन्दा उल्टो झनै भड्काउने अभिव्यक्ति दिए।
उनले बारम्बार पाथीभरा क्षेत्रमा केबलकार बनाउनुपर्ने धारणा राखे, जसले आन्दोलनकारीलाई झनै चिढ्यायो। यसरी भट्टराई आफैंले आन्दोलनमा घिउ थप्ने व्यवहार गरेपछि उनी पहिचानवादीहरूको निशानामा परे। त्यसअघि पनि प्रदेश १ को नामकरण ‘कोशी’ गर्दा भट्टराई पहिचान पक्षधरहरूका विरुद्ध खुलेर बोलेका थिए। यही कारण, पहिचानवादी समूहले उनलाई लगातार आलोचना गर्दै आएका छन्।
मन्त्री हुँदा विमानभित्र गाली
२०७६ भदौ २७ गते, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरूले गालीगलौज गरेका थिए । मन्त्रीले काठमाडौं आउने विमानलाई करिब एक घण्टा कुराएर यात्रुलाई सास्ती दिएको आरोप लगाउँदै शाही समूहले उनीमाथि सार्वजनिक रूपमा हप्कीदप्की गरेका थिए।
‘बैगुनी केटा’देखि ‘१० भाइ’सम्म
२०७७ पुसमा तत्कालीन नेकपा विभाजनपछि एमाले पनि फुटको दिशामा अघि बढ्यो। त्यस समयमा योगेश भट्टराई माधवकुमार नेपाल पक्षमा उभिए। त्यसपछि एमाले अध्यक्ष केपी ओलीले भट्टराईलाई ‘बैगुनी केटा’ को उपमा दिएका थिए।
२०७८ भदौ २ गते माधव नेपाल पक्षधर नेताहरूले एमाले फुटाएर नयाँ दल नेकपा एकीकृत समाजवादी गठन गरे। तर, माधव नेपाललाई साथ दिने भनिएका १० नेता नेताहरु अन्तिम समयमा ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै बसे। यी नेताहरूमध्ये योगेश भट्टराई पनि एक हुन्, जसलाई ‘१० भाइ’ भनेर चिनिन्छ।
हाल ती १० मध्ये भीम रावल र घनश्याम भुसालले एमाले छाडिसकेका छन् भने बाँकी नेताहरूको राजनीतिक भविष्य अन्योलमै देखिन्छ। राजनीतिक यात्रा यसरी ओरालो लागिरहेको नेता योगेश भट्टराईको भविष्य कता मोडिन्छ भन्ने विषयमा चासो बढेको छ।