सत्ता र सडक दुवै कब्जा गर्दै एमाले,राजावादीलाई काउन्टर दिदै

काठमाडौं। राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र स्थापनाको औपचारिक बीजारोपण भएको दिन वैशाख ११ मा सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले युथ सेलिब्रेसन गर्दै छ। नयाँ पुस्तालाई लोकतन्त्र र गणतन्त्रको महत्व बुझाउने भन्दै सत्ता कब्जा गरेको एमाले, सडक पनि कब्जा गर्ने तयारीमा छ।

वीर रसले ओतप्रोत भएको यो भिडियो सन्देश सोमबार दिउँसो साढे १ बजेतिर प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको हो। जसमा युवाले नै देश बनाउन सक्ने भन्दै युवामाझ जोश भर्ने काम गरेको छ।

सत्तारुढ नेकपा एमालेको यही वैशाख ११ गते काठमाडौंमा हुने कार्यक्रममा सहभागी हुन ४० वर्ष मुनिका युवालाई आह्वान गर्ने हेतुले प्रधानमन्त्री ओलीले यो भिडियो सन्देश सार्वजनिक गरेका हुन्।

उमेरले ७४ वर्ष लागिसकेका ओलीले पौरख र पाखुराबाट देश निर्माण गर्नका लागि आह्वान गरिरहँदा एमाले युथ सेलिब्रेसनको तयारीमा छ। जसमा एक लाख युवालाई काठमाडौंका सडकमा उतारेर शक्ति प्रदर्शनको सन्देश दिन खोजिँदै छ। पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भएको दिनलाई अवसर बनाएर एमालेले युथ सेलिब्रेसन गर्न लागेको हो।

त्यसो त अहिले पनि आफ्नो माग राखेर थुपै्र प्रदर्शनकारीहरू सडकमा नै छन्। शिक्षक, राजावादी, सहकारी, मिटरब्याज तथा लघुवित्त पीडितहरू निरन्तर आफ्ना माग सम्बोधनका लागि सडक सङ्घर्षमा छन्।

सरकारको नेतृत्व गरिरहेको हैसियतले सडकमा भएको मुद्दाको सम्बोधन गर्नु पर्ने दायित्व बोकेको एमाले पनि अब त्यसैको हिस्सेदार बन्दै सडकमा उत्रिँदै छ।

सडकमा भएको मुद्दालाई बेवास्ता गर्दै एमाले आफैँ सडकमा आउनुमा केही खास कारणहरू छन् । राजावादीहरूको आन्दोलनामा देखिएको भिडलाई काउन्टर दिन पनि युवालाई उतारेर एमालेले आफ्नो शक्ति देखाउन खोजेको छ ।

त्यस्तै एमाले सत्तामा पुगेपछि पार्टीलाई चलायमान गर्न नसकेको आरोप खेप्दा सोही भाष्यलाई गलत सावित गर्न पनि एमालेले वैशाख ११ लाई मोहरा बनाउन खोजेको छ।

सिराहामा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भाषण गरिरहेका बेला कार्यकर्ताहरुले कार्यक्रमस्थल छोडेर हिँडेको र रुपन्देहीमा पनि ओली सहभागी कार्यक्रमा उल्लेख्य कार्यकर्ताको उपस्थिति नहुँदा उनीप्रति देखिएको वितृष्णालाई चिर्न पनि पार्टीले सडकमा उत्रिन आवश्यक ठानेको छ।

व्यवस्था विरोधी गतिविधिका कारण दबाबमा परेका ओली सत्ता गठबन्धनकै नेताहरूले समेत प्रतिपक्षीको भन्दा एक कदम अघि बढेर सरकारको आलोचना गर्दा समस्यामा छन्।

यद्यपि, चौतर्फी आलोचना र दबाबका बाबजुद सत्तामा भएको एमाले सडकमा आउन लागेको छ । सत्ता कब्जा गरेर बसेको एमालेले सडक पनि कब्जा गर्न खोज्नु नैतिकहीनताको पराकाष्ठा भएको प्रतिपक्षी नेताको बुझाइ छ ।

कुनै समय यस्तो थियो, जुनबेला ओली युवाहरूको आशाको केन्द्र बनेका थिए । उनी जहाँ पुग्थे त्यहाँ ‘केपी बा वी लभ यू’को नारा लाग्नु सामान्य थियो।

कुनै सभा सम्मेलन होस् वा खेलकुद मैदान दर्शकदेखि खेलाडीहरु सबै ओलीको जयजयकार गर्न कुनै सङ्कोच मान्दैन थिए। तर, अहिले समय ठ्याक्कै त्यसको विपरीत चलिरहेको छ।

उनी सभा सम्मेलनमा पुग्दा मानिसहरू धमाधम भाषण नै नसुनी कार्यक्रमस्थल छाडेर हिँड्न थालेका छन् । आफैँले आयोजना गरेको खेलकुदका गतिविधिमा मैदानमै उनीविरुद्ध नारा लगाइन्छ।

आफ्नो वाहवाहीमा गुञ्जिने स्वरहरू अहिले गालीमा परिणत हुँदै उनीविरुद्धको गतिविधि भइरहेका छन्। त्यसैले बा ब्राण्ड बनिसकेका ओलीको खस्कदो लोकप्रियतालाई पुनः ब्युँताउन एमाले हर प्रयास गरिरहेको छ। लोकतन्त्रको बीजारोपण भएको दिनको बहानामा युथ सेलिब्रेसन गर्न पार्टी हौसिएको छ।