प्रधानमन्त्री बनेर काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छ: वामदेव गौतम

काठमाडौं। राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री बन्नेहरुलाई बोलाएर काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्ने तर्क गरेका छन्।

मंगलवार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताउँदै नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने जिकिर गरे।

नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनको भनाइ छ।

उनले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभुत आवश्यकताका समस्याहरु समाधान गर्न सम्भव नरहेको जिकिर गरे।