शिक्षामन्त्री मैले नै बनाएको हो: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा प्रकरणलाई लिएर सञ्चारमाध्यममा आएको समाचारप्रति आपत्ति जनाएका छन्।
नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भट्टराईको राजीनामा स्वास्थ्य कारणले भएको स्पष्ट पार्दै, आफूले असहयोग गरेको भन्ने हल्ला सत्य नभएको बताएका छन्।
‘एक जना मन्त्रीले राजीनामा दिनुभयो भनेर धेरै हल्ला छ। प्रधानमन्त्रीले बस्नै दिएन रे भनेर लेखिएको छ, उनले भने, ‘मैले नै बनाएको मन्त्री हो, सहयोग गरिरहेको छु, सिकाइरहेको छु।
प्रधानमन्त्री ओलीले शिक्षा मन्त्रालय ठुलो नभए पनि सजिलो मन्त्रालय नभएको उल्लेख गर्दै भट्टराई हालसालै स्वास्थ्य समस्याबाट गुज्रिनु परेको जानकारी दिए।
‘अस्ति मात्र अप्रेसन गर्नुभयो। स्वास्थ्य अवस्था राम्रो नभएकोले राजीनामा दिनुभएको हो। तर आजको पत्रपत्रिकामा हेडलाइन हेर्दा सबै मेरो विरुद्धमा छन्, उनले गुनासो गरे, ‘सबैले सल्लाह गरेर लेखे झैँ लाग्छ।
प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीको राजीनामा असहयोग र मतभेदका कारण भएको भन्ने प्रचारप्रति गम्भीर आपत्ति जनाएका छन्।