पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
काठमाडौं। काठमाडौंको शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएका ५८ वर्षीय पदमबहादुर तामाङ छन्। उनलाई नुवाकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ।
वैशाख ७ मा शंखरापुर–९ स्थित सानागाउँमा उनले पुतली तामाङको हत्या गरेका हुन्। सिन्धुली माइती भएर आफ्ना दुई बच्चासँगै शंखरापुरमा बस्दै आएकी पुतलीसँग पदम पछिल्लो ३ महिनायता सँगै बस्दै आएका थिए। आरोपीले खुकुरीले घाँटी काटेर पुतलीको हत्या गरेका हुन्।
उनको आक्रमणबाट मृतककी छोरी १० वर्षीय संजिता तामाङ र ११ वर्षको छाेरा रिदम तामाङको हात र खुट्टामा गहिरो चोट लागेको छ।