प्रधानमन्त्री ओलीको मन्त्रीमाथि चर्को हस्तक्षेप,कांग्रेसबाट मन्त्री भएका पनि आजित

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमाथि चर्को हस्तक्षेप गरेको खुल्न आएको छ। कांग्रेसबाट मन्त्री भएकाहरूले ओलीसँग आजित भएपछि पार्टीका नेताहरू गुहारेको खुलासा भएको छ।ओलीमाथि फेरिने मन्त्री कि प्रधानमन्त्री भन्ने यक्ष प्रश्न खडा भएको छ।

त्यस्तै ओलीको क्याप्चरमा परे के सम्म हुन्छ भन्ने पछिल्लो उदाहरण शिक्षामन्त्री विद्या भट्टराई बनेकी छन्।ओलीको स्वार्थअनुसार काम नगर्दा राजीनामा दिनुप¥यो। यहाँ मन्त्रालय मन्त्रीले चलाउँदैनन्। प्रहरीका संगठनहरु प्रमुखले चलाउँदैनन्। कर्मचारी सुझबुझले चल्दैनन्। सबै ठाउँमा प्रधानमन्त्रीको हुकुम चल्छ। अनि हुकुम गर्ने प्रधानमन्त्री चाहिँ संयन्त्रबाट चल्छन्।

सुशासनको कुर्बानी दिएर आफ्नै नेतृत्वमा उच्चस्तरीय सुशासन आयोगको गठन गर्ने निर्णय अर्को लाचारीको हद हो। ओलीको इसारामा मन्त्री चले कसरी पुरस्कृत गरिन्छ र उनको इसारामा नचले कसरी कारवाही हुन्छ भन्ने बुझ्नका लागि दीपक खड्का, विद्या भट्टराईलाई मात्र हेरे पुग्छ।

खड्काले बिचौलियाका पक्षमा काम गर्दा पुरस्कार पाए। भट्टराईले जनताका पक्षमा काम गर्दा दण्ड पाइन्। ओलीले काम गर्न नदिएको भन्दै यस्ता प्रवृत्तिबारे कांग्रेसमा प्रश्न नै उठेको थियो।

महामन्त्री विश्वप्रकाश शर्माले त कांग्रेसका मन्त्रीले काम नगरेको भन्ने लागेको भए एमालेबाटै अनुकूल टिम बनाउनसम्म सुझाव दिए। तर, ओलीको दबाबमा काम गर्न नसकेकै कारण राजीनामा दिने सुरुवात एमालेकै मन्त्रीबाट भएको छ। केन्द्रमा २५ जना मन्त्री छन्। तर, उनीहरु नाम मात्रका हुन्। काम सबै ओलीको इन्ट्रेस्टमा हुने गरेकाे छ।  

अहिले शिक्षकले कानुन माग्दा प्रधानमन्त्रीकाे टाउको दुखिरहेको छ। ओलीले हरेक वार्तामा शिक्षामन्त्रीलाई बाइपास गरेका छन्। आन्दोलन रोक्न मध्यमार्गी सात बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा लैजान तयार पारेकी थिइन्। उपहारस्वरुप दबाब सहन नसकेपछि बिरामी भएको भन्दै राजीनामा दिनुप¥यो।

मन्त्रिपरिषद्मा हस्तक्षेपको सिकार बनेका अर्का मन्त्री हुन् रमेश लेखक। अधिवक्तासमेत रहेका लेखकको नियतमा खोट छैन भन्नेमा धेरै विश्वस्त छन्। स्रोतका अनुसार लेखक कारबाहीको हतारो भन्दा बढी मुद्दालाई न्यायिक निरुपणमा ध्यान दिन्छन्। तर, झ्याप्प ओलीको इन्ट्री हुन्छ।

मन्त्री लेखकले प्रहरी प्रशासनमा हस्तक्षेप नगर्ने हरेक कुरा न्यायिक निरूपण गरेर जनतालाइ सेवा गर्ने उद्देश्य राखे पनि ओलीको इन्ट्री भएपछि हरेक कुरा विवादमा आउने गरेकाे देखिएकाे छ।

गृहमन्त्री स्वयं ओलीको पेलानले हैरान भएको स्रोत बताउँछ। राजावादी आन्दोलनदेखि थुनुवाको मुख थुन्न दिएका निर्देशनले लेखकको मनमा चिसो पसाएको छ। प्रधानमन्त्री ओलीको यस्तै कुराले काँग्रेस पार्टी भित्र सरकारबाट बाहिरिनु पर्ने कुराले समेत प्रवेश पाउन थालेकाे छ।