प्रधानमन्त्री ओली र शिक्षकबीचको टसल झन बढ्यो

काठमाडौं। विद्यालय शिक्षा ऐनको माग गर्दै विगत २२ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले सरकारले आफ्ना मागलाई सम्बोधन नगरे थप सशक्त रुपमा आन्दोलन चर्काउने चेतावनी दिएका छन्। काठमाडौंको माइतीघर बानेश्वर सडकखण्डमा शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षक कर्मचारीहरु सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि थप आक्रोशित बनेका छन्।

सरकारले आफ्ना मागहरु सम्बोधन गर्नेभन्दा पनि झनै राजनीतिक रंग दिएर आन्दोलनलाई दबाउन खोजेको उनीहरुको आरोप छ। शिक्षा मन्त्री शिक्षकहरुको मागमा सकारात्मक भएको तर प्रधानमन्त्री केपी शर्मा ओलीको असहयोगका कारण राजीनामा दिनु परेको उनीहरुले आरोप लगाएका छन्। उनीहरुले प्रधानमन्त्री ओलीले माग पूरा गर्न नसके नैतिक रुपमा राजीनामा दिनु पर्ने माग गरेका छन्।

तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिबद्धता जनाउँदा पनि विश्वस्त हुन सकेका छैनन्।

विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यसपटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडानमा छन्। सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरु आन्दोलन छोडेर फर्किने उनीहरुको भनाइ छ।

सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ। शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारेको छ। यता, शिक्षकको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ। सरकार र शिक्षकबीचको तनावले ५५ लाख बालबालिकाको भविष्यमाथि खेलबाड भइरहेको छ।