धरानका मेयर साम्पाङसहित तीनजनाविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा

सुनसरी । धरानका मेयर हर्क साम्पाङसहित तीनजना विरुद्ध अभद्र व्यवहारमा उजुरी परेको छ । सडक बनाउने विवाद मिलाउन धरान ११ पुगेका मेयर साम्पाङले उक्साएपछि उनका समर्थकद्वारा कुटिएका सन्तोष लिम्बुले प्रहरीमा उजुरी दिएका हुन् ।

मेयर साम्पाङ र वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागोकै अगाडि सोमबार कुटिएका लिम्बुले मेयर साम्पाङसहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो र धरान ११ कै चङ्खे भन्ने जोन लिम्बूविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा हालेका हुन् ।
सन्तोष लिम्बू धरान–११ नगरकोट टोल विकास स्रस्थाका अध्यक्ष हुन् ।

नगरकोट–बानडाँडा बाटो स्तरोउन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेको थियो । बजेट कम भएपछि मास्तिरको क्षेत्रमा मात्रै यस वर्ष काम हुने भएपछि विवाद उत्पन्न भएको थियो।

विवाद मिलाउन नगर मेयर साम्पाङ सोमबार आउने भनिएपनि उनी मंगलबार मात्र निर्माणस्थल पुगेका थिए । तर, उनले विवाद मिलाउनुको साटो उल्टै विवाद निकालेको सन्तोषको भनाइ छ।मेयरकै अघि उनका समर्थकले म माथि हातपात प्रयास गरे त्यसैले कानुनी उपचार खोज्दै छु’ उनले भने।

मेयर साम्पाङ र सन्तोष लिम्बूबीच सोमबार भनाभन भएको थियो। त्यस बेला लिम्बूलाई नगर प्रमुखले हैसियत सोधेका थिए। लिम्बूले आफू नागरिक भएको बताएका थिए। सोक्रममा जोन लिम्बू आफूमाथि आइलागेको उनले बताए । सन्तोष लिम्बु माओवादी कार्यकर्ता हुन्।