बजेट अधिवेशनमा सशक्त भूमिका खेल्न सांसदहरूलाई प्रचण्डको निर्देशन

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले बजेट अधिवेशनमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्।
बिहीवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष दाहालले वैशाख १२ गतेबाट शुरु हुने वर्षे अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट भूमिका खेल्न निर्देशन दिएका हुन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै आफ्नो दलको तर्फबाट प्रतिनिधिसभामा र राष्ट्रियसभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बताए। उनले बैठकमा अध्यक्ष दाहालले नीति तथा कार्यक्रम, प्रिबजेट लगायतका विषयवस्तु र बजेटका बारेमा जनताका भावनालाई समेटेर आवाज उठाउन निर्देशन दिनुभएको जानकारी दिए।
शिक्षकहरूका मागहरू सम्बोधन गर्नका लागि पार्टीले विद्यालय शिक्षा विधेयक अगाडि बढाउन दबाब दिने र साथै संघीय निजामती विधेयकलाई पनि यथाशीघ्र अघि बढाउन दबाब दिने विषयमा छलफल भएको बताउनु भयो।
पाण्डेले भने, ‘वैशाख १२ गतेदेखि शुरु हुने संघीय संसद्का अधिवेशनहरूमा हाम्रो दलका तर्फबाट प्रतिनिधिसभामा र राष्ट्रियसभामा कसरी प्रस्तुत हुनेरु नीति तथा कार्यक्रम, प्रिबजेट लगायतका विषयवस्तु र बजेटका बारेमा हाम्रो दलको तर्फबाट जनताका भावना कसरी अभिव्यक्त गर्ने भन्नेबारेमा यो बैठक केन्द्रित थियो। विद्यालय शिक्षा विधेयक, संघीय निजामती विधेयक लगायत कैयौँ महत्वपूर्ण विधेयकमा हाम्रो प्रस्तुति कस्तो रहने रु भन्ने बारेमा हामीलाई दलको नेताले अहिलेको समग्र राजनीतिक परिस्थितिका साथ हाम्रो प्रस्तुति प्रभावकारी बनाउन दिशा निर्देश गर्नुभयो।