निजी मेडिकल कलेजलाई कुनै सहयोग हुँदैन: स्वास्थ्य मन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूलाई कडा सन्देश दिएका छन् । उनले सरकारले गरेको निर्णय कार्यान्वयन नगरेसम्म ती संस्थासँग सम्बन्धित कुनै पनि काम अगाडि नबढाइने स्पष्ट पारेका छन् ।
नेपाल चिकित्सक सङ्घ अन्तर्गत आवासीय चिकित्सकहरूले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल समिति सँग बिहीबारको छलफलमा मन्त्री पौडेलले ८औँ तहको निर्वाह भत्ता कार्यान्वयन नगरेका निजी मेडिकल सञ्चालकहरूको आलोचना गरे ।
‘सरकारको निर्णय लागू नभएसम्म मन्त्रालयबाट कुनै प्रकारको सहयोग हुने छैन,’ मन्त्री पौडेलले भने, ‘निजी मेडिकल सञ्चालकहरूले यस विषयमा तर्क गर्नुपर्ने अवस्था छैन ।
उनले निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षालाई सेवा होइन, व्यापारको रूपमा हेरेको आरोप लगाए । पीजी पढ्ने आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिन नसक्ने भन्ने कुरा स्वीकार्य छैन। यसका लागि सरकारबाट अतिरिक्त सहुलियत आवश्यक छैन,उनले थपे ।
पौडेलले पीजीको सिट सङ्ख्या र शुल्कबारे छलफल हुन सक्ने जनाए पनि, निर्णय कार्यान्वयन नगर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिए । सरकारको निर्णय कार्यान्वयन नगर्ने प्रवृत्ति रोक्न अब कडा कदम चालिन्छ,’ मन्त्री पौडेलले भने।