आधारभूत कुरा पूरा नगरे सरकारबाट बाहिरिन्छौँ: महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आधारभूत कुरा पूरा गर्न नसकेको बताएका छन्।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा महामन्त्री थापाले जनताको कुरा गर्दा वास्ता नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्।

थापाले भने, ‘हाम्रा केही आधारभूत कुराहरू छन् त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिने छौँ। यो सरकारबाट मात्रै होइन हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने जुनसुकै सरकारबाट बाहिरिन्छौँ।

थापाले पुराना नेताका कारण देशमा बेचैनी बढिरहेको बताए। नागरिकले जसका कारणले असन्तुष्टि र बेचैनी बढिरहेको महसुस गरेका छन्, उसैलाई ड्राइभिङ सिटमा देखिरहेका छन्। हामी अब यो गाडी तिमीले चलाएर हुँदैन भनिरहेका छौँ। यसका लागि काम गरिरहेका छौँ।