आतंकवादी हमलामा नेपाली सहित २६ को मृत्यु,नेविसंघ त्रिचन्द्र इकाई समितिद्वारा शान्ति द्वीप प्रज्वलन

काठमाडौं। भारतको जम्मू-कश्मीरस्थित पहलगाममा हालै भएको आतंकवादी हमलामा २६ जना निर्दोष नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा रुपन्देही जिल्ला, बुटवल-११, कालिकानगरका नेपाली नागरिक सुदिप न्यौपाने पनि रहेका छन्। यो हृदयविदारक घटनालाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिचन्द्र इकाई समिति काठमाडौंले आज एक शोक कार्यक्रमको आयोजना गरेको छ।

पहलगाममा भएको यो आक्रमण अन्तर्राष्ट्रिय समुदायको लागि चिन्ताको विषय बनेको छ। विशेषगरी पर्यटकीय क्षेत्रमा गरिएको यो आक्रमणले क्षेत्रीय शान्ति र स्थिरतामा गम्भीर चुनौती थपेको छ।

नेविसंघका अनुसार आतंकवादी हमलामा ज्यान गुमाएका सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्न आज संध्याकालिन द्वीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको छ।

आतंकवाद मानवता विरुद्धको गम्भीर अपराध हो,नेविसंघ त्रिचन्द्र इकाई समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सम्पूर्ण विश्व एउटा साझा समाज भएकाले हामी सबै मिलेर आतंकवादको विरुद्धमा दृढतापूर्वक उभिनुपर्छ।

प्राप्त जानकारी अनुसार, सुदिप न्यौपाने पहलगाममा पर्यटकको रूपमा भ्रमणमा रहेका थिए। उनको अकाल निधनले नेपाली समुदायमा शोकको वातावरण छाएको छ।

नेविसंघले शान्ति द्वीप प्रज्वलन कार्यक्रम आज बेलुका ५:३० बजे त्रिचन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको छ। कार्यक्रममा विद्यार्थीहरूको उपस्थिति रहेकाे थियाे।

भगवान गौतम बुद्धको शान्तिको मार्ग अनुसरण गर्दै हिंसा र आतंकको अन्त्यतर्फ अघि बढ्न हामी सबैलाई आह्वान गर्दछौं,विज्ञप्तिमा थप उल्लेख छ।

त्यस्तै इकाई अध्यक्ष अमृत शाहीले नेविसंघ त्रिचन्द्रले विश्व जगतमा शान्तिको मार्गमा अगाडि बढाउनलाई आगामी दिनमा पनि भूमिका खेल्ने जनाएका छन्, साथै गौतम बुद्धको मार्गदर्शनमा अबको विश्वलाई लैजानुपर्ने जोड दिएका छन्।

मृतकहरूप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गर्दै हिंसा र आतंकको अन्त्यतर्फ अघि बढ्न अध्यक्ष  शाहीले सबैलाई आह्वान गरेका छन्।