व्यापारीहरु म्याद सकिएका सामान बेचेर सर्वसाधारण ठग्दै,प्रधानमन्त्री भने व्यापारीकाे संरक्षण गर्दै
रुषा थापा
अहिले जनताको भान्सा महँगिएको छ। आम सर्वसाधारणलाई बिहान–बेलुकाको दुई छाक टार्न समेत धौंधौं पर्न थालेको छ। किनकि व्यापारीहरुले आफुखुशी खाद्यान्नको मूल्यवृद्धि गरेका छन्। जथाभावी शुल्क असुलिरहेका छन्। पसलैपिच्छे सामानको मूल्य फरक पाइन्छ। किराना पसलदेखि भाटभटेनी, बिग मार्ट, सुपर मार्केटहरुले आफुखुशी सामानको मूल्य तोकेको पाइन्छ।
एकातिर सामानको तौल कम हुन्छ, अर्कोतिर म्याद सकिएको कुहिएको, बिग्रिएको हुन्छ । यद्यपि, त्यस्ता सामानमा पनि मूल्यसहितको नयाँ स्टिकर टाँसिएको छ । सामानको प्याकेज हेर्दा आकर्षक हुन्छ, भित्र भने कहिलेदेखि कुहिएको हुन्छ । व्यापारीहरु आफुखुशी सामानको मूल्य तोकेर त सर्वसाधारण ठग्छन् नै सँगै म्याद गुज्रिएका, कुहिएका सामान बेचेर आम उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्छन् ।
व्यापारीहरुले लुटधन्दा मच्चाइरहँदा पनि सरकार भने मौन छ । .सरकार अनुगमन गर्दैन । चाडपर्वको बेला पनि नौटंकी गर्छ । के चाडबाडमा मात्र उपभोक्ता ठगिने हो र ? अन्य समयमा चाँहि व्यापारीले म्याल गुजिएका, कुहिएका सामान बेचेर उपभोक्ता ठग्दैनन् ? प्रश्न गम्भिर छ । तर, जवाफ दिने सम्बन्धित निकाय निदाएर बसिरहेको छ । यता, बजार अनुगमन गरिएपनि व्यापारीसँगकै मिलेमतोमा गरिन्छ ।
जसले घुस दिन्छ, उसले जतिसुकै म्याद गुज्रिएको सामान बेचेपनि कारबाही गरिदैँन । अहिले बजारमा म्याद सकिएका, बिग्रिएका सामानहरु छ्यापछ्याप्ती भेटिन्छन् । यति मात्र नभई व्यापारीहरुले नक्कली सामान समेत बेचिरहेका छन् । विशेष गरी पछिल्लो समय बजारमा नक्कली मदिरा बेचिने क्रम बढ्दो छ । किराना पसल, भाटभटेनी, बिग मार्ट, सुपर मार्केटमा मात्र नभई अन्य विभिन्न पसलहरुमा पनि बासी, कुहिएका सामान बेचिएको पाइन्छ ।
होटल, रेस्टुरेन्टदेखि मिठाई पसलसम्म झण्डै महिना दिनअघिको बासी, बिग्रिएको खानेकुरा बेचिएको पाइन्छ । त्यो पनि आफुखुशी मूल्य लिएर। यता, मासु पसलहरुमा पनि यस्तै छ । खसीको मासु भनेर बाख्राको मासु बेचिन्छ । भैसीको मासुलाई राँऋगा भन्दै बेचिएको हुन्छ । हाल काठमाडौं उपत्यकासहित देशभर सञ्चालनमा रहेका अधिकांश मासु पसल सरकारको मापदण्ड विपरीत रहेका छन् ।
मासु पसल फोहोर, दुर्गन्धित छन् । फोहोर पानीले मासु पखालेको देखिन्छ । त्यस्तै, मासु काट्ने वा बेच्ने व्यापारी पनि फोहोरी नै हुन्छन् । माछामासु, खाद्यान्नमा त सर्वसाधारणलाई ठगियो नै सँगै औषधीमा समेत जनताको स्वास्थ्यमा खेलबाड गर्ने गरिएको पाइन्छ।
औषधी पसलेहरु म्याद सकिएको औषधी बेचबिखन गर्छन् । यस्तो औषधी खाँदा कतिपयको ज्यानै समेत जाने गरेको छ । कस्मेट्रिक, ब्युट्री पार्लरहरुले पनि म्याद सकिएका वा मानिसको शरीर वा छालामा गम्भीर पर्ने केमिकल मिसाएका सामानहरु बेचिरहेका छन् ।
हार्डवेयर पसलहरु गुणस्तरहीन सिमेण्ट, डण्डीहरु बेच्छन् । अनि तौलमा ठग्छन् । त्यस्तै, म्याद सकिएको रंग पनि बेचिन्छ । बजारमा सञ्चालनमा रहेका अधिकांश व्यापार व्यवसायको दर्ता नै छैन । दर्ताबिनै उनीहरुले आफुखुशी सामान मूल्य तोकेर कुहिएका, बिग्रिएका वा गुणस्तरहीन सामान बेचेर सर्वसाधारण ठगिरहेका छन् । तर, सरकार केही पनि गर्दैन ।
यस्ता व्यापारीलाई कारबाही गर्नुको साटो प्रधानमन्त्री केपीशर्मा ओली उल्टै आफ्नो पार्र्टी (एमाले) को कार्यालय भाटभटेनीका साहु मीनबहादुर गुरुङसँग सहयोग लिन्छन् । मीनबहादुरले एमालेको पार्टी कार्यालय बनाउन झण्डै १२ रोपनी जग्गा दान गरेका छन् । यति मात्र नभई एमाले पार्टी कार्यालय पनि उनैले बनाइदिने सुनिएको छ ।
अनि पार्टी कार्यालय व्यापारीले बनाइदिने भएपछि कसरी वर्तमान सरकार व्यापारीविरुद्ध उभिन्छ ? बजारमा फलफुलदेखि तरकारी, पिय पदार्थसम्ममा विषादीको प्रयोृग गरिएको पाइन्छ । आज लिएको आएको खाउँखाउँ लाग्ने फलफुल भोलि कुहिएर बसेको हुन्छ । किनकि त्यसमा विषादीको प्रयोग गरिएको हुन्छ । यस्तै, तरकारीमा पनि उस्तै छ ।
विषादी नमिलाइएको त कुनै खाद्यान्न नै पाइदैँन । दही, दुध, घिउ शुद्ध पाइदैँन । दुधमा पाउडर मिसाइन्छ भने घिउमा पिठो । पेट्रोल पम्पहरुले मेसिन र मिटर बिग्राएर तौलमा ठगिरहेका छन् । दश लिटर पेट्रोल बराबरको पैसा असुलेर पाँच÷छ लिटर मात्र हाल्छन् । खाना पकाउने ग्याँसको सिलिण्डरको पनि तौल पनि तोकिएबमोजिम हुदैँन ।
व्यापारी, उद्योगीहरुले सर्वसाधारणलाई दिउँसै रात पारेर ठगिरहेका छन् । तर, सम्बन्धित निकाय कतै अनुगमन गर्दैन । सरकारमा बसेकाहरुलाई कसरी आफ्नो मान्छे छिराउन पाइन्छ ? कसरी भ्रष्टाचार गर्न सकिन्छ ? भन्ने मात्र चिन्ता छ । ओली नेतृत्वको सरकार गठन भएको झण्डै एक सय दिन पुग्न लागेको छ ।
यस अवधिमा यो सरकारले केही पनि गरेको पाइदैँन । न यातायात क्षेत्रमा भएको सिण्डिकेट हटाइयो । न नयाँ ट्याक्सी, ढुवानी, गाडी, माइक्रो बसको दर्ता खोलियो । उल्टै सिण्डिकेट व्युताउने प्रपञ्च भइरहेको छ । सय दिनमा ओली सरकारले एउटा सिन्को पनि भाँचेन।
झापाको गिरिबन्धु टि स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा लगिएको आरोपमा आफु बच्ने, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बचाउने र बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा आफ्नो छोराको नाममा पास गर्ने अर्थमन्त्री विष्णु पौडेललाई बचाउनेबाहेक केही काम भएन ।
बजार झन् झन् मन्दीमा गएको छ । घरजग्गा, गाडी र सेयरमा लगानी गरेकाहरु चुलुम्मै डुबेका छन् । अर्थतन्त्र नाजुक अवस्थामा पुगेको छ । तैपनि, सरकारलाई केही मतलब छैन । अहिले बजारमा सुनिन्छ कि प्रधानमन्त्री ओलीको बालकोटस्थित दश रोपनी जग्गामा महलजस्तो घर बनेको छ । तेह्रथुम र झापामा पनि उनको घरजग्गा रहेको बताइन्छ ।
उनको हातमा बाँधिएको घडीको मूल्य झण्डे तीन करोड मूल्य बराबरको रहेको सुनिएको छ । त्यस्तै, ओलीले लगाउने चस्मा, कपडा, जुत्ता पनि महँगा रहेका छन् । हुन त उनी दैनिक ६०–७० हजार मूल्य बराबरको पानी विदेशबाट आयात गरेर पिउँछन् । उनले स्वदेशी तथा विदेशी बैंकहरुमा अर्बौ रकम रहेको पनि बुझिन्छ ।
यता, सुन गरगहना, सेयरमा पनि उत्तिकै लगानी रहेको सुनिन्छ । अनि जागिर पनि नभएको, कुनै व्यापार व्यवसाय पनि नगर्ने व्यक्तिको कसरी यत्रो धनसम्पत्ति हुन्छ ? यसको जवाफ अब प्रधानमन्त्री ओलीले दिनैपर्छ । विगतमा प्रधानमन्त्री हुँदा बिरामी परेका उनको उपचारमा नेपाली जनताले रगत पसिना बगाएर कमाई तिरेको अर्बौ रकम सकियो ।
नेपालको विदेशी ऋण बढाउने पनि उनी नै हुन् । २०७४ फागुल्न ३ गते ओली प्रधानमन्त्री हुँदा मुलुकको वैदेशिक ऋण ६ खर्ब दियो । तर, ०७८ असोज २८ गते छोड्ने बेला २१ खर्ब पुर्याइदिए । अहिले यो पनि बढेर २७ खर्ब पुगिसकेको छ । अनि यस्ता व्यक्तित्वलाई अझै पनि काँग्रेस प्रधानमन्त्री बनाएर राखिरहेको छ । एमाले त आफ्नै कारणले सकियो नै तर काँग्रेस पनि एमालेसँगै सति जाने भएको छ ।