सस्तोमा पाइयो भन्दै बैंकको लिलामी धितो किन्दा मुद्दा खेप्दै सर्वसाधारण

सस्तो मूल्यमा पाइयो भन्दै बैंक तथा वित्तिय संस्थाले लिलाम गरेको धितो मानिसहरुले किने। तर, अहिले निल्नु न ओकाल्नु भएको छ। एकातिर मुद्दा खेप्नु परेको छ,अर्कोतिर सरकारी, सार्वजनिक मुद्दामा बनेकोले झनै पीर। ऋणीले कर्जा तिर्न नसकेपछि बैंकले धितो लिलाम गर्छ। कर्जा नतिरेकै कारण बैंकले अधिकांशको धितो लिलाम गरेको छ।

लिलाम गरेको धितो बेच्नैपर्यो । फेरि कसरी ऋण उठाउनु । पछिल्लो समय घरजग्गामा मन्दी रहेको त सबैलाई थाहै छ । त्यसैले, बैंकले सस्तो मूल्यमा धितो बिक्री गर्यो । सस्तोमा पाएपछि मानिसहरुले पनि सोचविचार नगरी त्यो घरजग्गा किने । अहिले अदालत धाउँदा धाउँदै उनीहरु दिक्क भएका छन् । ऋणीका सन्ततिले धितोउपर हकदाबी गरेपछि अदालत गुहार्नुपरेको छ ।

अर्कोतिर अधिकांश घरजग्गा सरकारीm, सार्वजनिक, गुठी वा ऐलानी जग्गामा निर्माण भएको पाइएको छ । यसले उक्त घरजग्गा किन्नेहरु चुलुम्मै हुने देखिन्छन्। बैंकले धितो राख्ने बेला त्यो सरकारी, सार्वजनिक जग्गामा बनेको छ वा छैन ? भनी हेर्दैन । अहिले त्यसको परिमाण त्यो घरजग्गा किन्नेहरु भोग्नुपरिरहेको छ । अब घर नै नरहला भन्ने चिन्ता उनीहरुमा छ । किनकि जग्गा सरकारको भएपछि निजी भवन भत्काउनैपर्छ।

बैंकले लिलाम गरेको धितो किन्दा मानिसहरु विभिन्न लफडा परेमा अहिले भन्छन्, ‘सस्तो पायो भन्दैमा लिलाम गरिएको धितो किन्नुहुँदैन रहेछ।बैंकलाई जसरी भएपनि कमाउनु छ। त्यो चाहेर ठगेर होस् या लुटेर । ऋणीसँग असुल्नु असुलेको छ, बैंकले । करोडौं मूल्य पर्ने धितो राखेर ५० लाख रुपैयाँ ऋण दिने, त्यसमा पाँच लाख त घुसै खाने, सेवाशुल्क तीन प्रतिशत अनि ब्याज १४ प्रतिशत भनेर ८० प्रतिशतसम्म असुल्ने ।

ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै करोडौंको धितो ४२ लाखमा खाइदिन्छ। अनि त्यो धितो अर्कोलाई बेचेर फसाइदिन्छ । करोडको धितो ६०–७० लाखमा बेचिन्छ । किनकि बैंकले आफ्नो लगानी ऋणीबाट पहिल्यै सेवाशुल्क, साँवा ब्याज गरेर लाखौं रकम तिरिसकेको हुन्छ । बैंकबाट पीडित बनेपछि ऋणीले अदालत गुहार्छन् । ऋणीले मुद्दा हालेपछि बैंकले केही गर्दैन । त्यो धितो किन्नेले मात्र सबै जिम्मेवारी र मुद्दा खेप्नुपर्छ ।

बैंक, वित्तिय संस्था चोर, ठग हुन्, यिनीहरु बन्द गरिनुपर्छ भनेर जनताले आवाज उठाउँदै आएका छन् । बैंकबाट ऋणी र लगानीकर्ता मात्रै पीडित भएका छैनन् । बचतकर्ता समेत पीडित भएका छन् । बचतकर्ताको खाताबाटै बैंकका कर्मचारीहरुले पैसा चोर्ने गरेका छन्।

त्यो पनि लाखौं। आफ्नो खाताबाट पैसा चोरिएपनि कतिपय बचतकर्ताले थाहा पाउँदैनन् । कतिपय बचतकर्ताले थाहा पाएपनि बैंकले उल्टै धम्क्याउँदा मौन बस्छन्। जनता बैंकबाट निकै पीडित भएका छन्। तैपनि सरकार उनीहरुको आवाज सुन्दैन। न बैंकमाथि कारबाही गर्छ न दर्ता खारेज नै।

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु नचिन्ने तरिकाले हिँडेको पाइन्छ । कार्यालयभित्र मात्रै उनीहरु मास्क खोल्छन् । महिला कर्मचारी सलले मुख ढाकेर हिँडेको देखिन्छ भने पुरुष कर्मचारीको मुखमा मास्क हुन्छ । बैंकहरुले विज्ञापनको आडमा आफ्नो ठगीधन्दा लुकाउँदै आएका छन् । सञ्चारमाध्यमले विज्ञापन पाएपछि बैंकले जतिसुकै ठगेजस्तै लेख्दैनन्, त्यसको फाइदा उठाइरहेका छन् ।

सञ्चारमाध्यम राज्यको चौथों अंग हो । सञ्चारमाध्यम जनताको आवाज हो । तर, पछिल्लो समय सञ्चारमाध्यम जनताको आवाज कम, ठगहरुको संस्थाजस्तो देखिन्छन् । विज्ञापनको पछि लाग्दा सञ्चारमाध्यमबाट जनताको विश्वास गुम्दै गएको छ । हो सञ्चारमाध्यम चलाउन विज्ञापन आवश्यक छ । तर, विज्ञापनको लोभमा आफ्नो धर्म बिर्सिनुहुन्न । जनताको पक्षमा कलम चलाउन छोड्नुहुन्न ।

बैंक, वित्तिय संस्थाबाट एक–दुई जनामात्रै पीडित भएका छैनन् । लाखौं पीडित छन् । सहकारी, लघुवित्त र फाइनान्स बचतकर्ताको पैसा खाएर भाग्यो । बैंकले चाँहि ऋणलाई ठग्नु ठगेको छ । करोडपतिबाट सडकपति अवस्थामा पुर्याएको छ । मर्नु कि बाँच्नु अवस्थामा छन् बैंकबाट ऋण खाएकाहरु । बैंकले सबै जायजेथा खाएर पनि आफ्नो तीन पुस्ता कालोसूचीमा राखिदिएपछि मानिसहरु आफूसँगै आफ्ना सन्ततिसमेत मारिरहेका छन् ।

बैंक, वित्तिय संस्थाबारे जनता भन्छन्, ‘यिनीहरु ठग, चोर हुन् ।’ पहिलापहिला बैंक, वित्तिय संस्थामा जागिरे भन्नासाथ सम्मानले हेरिन्थ्यो। अहिले त ठग, चोर भन्ने भएपछि मानिसहरु आफ्ना छोराछोरी वा परिवारका कोही सदस्य बैंक, वित्तिय संस्थामा जागिरे भएतापनि बताउँदैनन्।वित्तिय संस्था जनताको नजरबाट नाङ्गिँदै गएको छ । त्यसैले, बैंकमा बचत गर्ने र कर्जा लिने दुवैको संख्यामा गिरावट आइरहेको छ ।

सहकारी, लघुवित्त र फाइनान्स त डुबिहाले । घरजग्गा, गाडी र सेयरमा यिनीहरुले गरेको लगानी चुलुम्मै भइहाल्यो । बैंकको पनि लगानी यिनै तीन क्षेत्रमा छ । अब बैंक पनि विस्तारै सहकारीकै अवस्थातिर पुग्दैछ । बैंकले बजारी मूल्यअनुसार कर्जा प्रवाह गरेको छ । यसले खतरा देखिएको छ । केही दिनअघि सुन प्रतितोला एक लाख ९७ हजार रुपैयाँ नाघ्यो ।

दश वर्षअघि सुन प्रतितोला बढीमा ५० हजार रुपैयाँ थियो । एक दशककै बीचमा सुनको भाउ सयौं गुणाले बढेको छ । तर, रफ्तारले बढेको सुनको मूल्य दशकअघिकै अवस्थामा फर्किँदैन भन्ने ग्यारेन्टी छैन । फेरि सुनमा पनि बैंकको लगानी छ । अहिले चलेको मूल्यअनुसार बैंकले सुनमा कर्जा प्रवाह गरेको छ ।

यसरी सुनको मूल्य घटेमा व्यक्ति मात्र डुब्दैनन्, बैंकसमेत टाट पल्टिने छ । यसको उदाहरणको रुपमा घरजग्गा, गाडी र सेयरलाई नै लिन सकिन्छ । पाँच वर्षअघि घरजग्गा, गाडी र सेयर किन्न हारालुछ चल्थ्यो । अहिले सस्तोमा दिँदासमेत बिक्री हुँदैन । पाँच वर्षअघि करोडौंमा किनिएको घरजग्गा अहिले त्यसको आधा मूल्यमा बेच्छुभन्दा समेत किन्ने कोही छैन ।

३२ सयमा किनिएको सेयर अहिले २६ सयमा झरिसक्यो। गाडी त झन् भारत र चीनबाट ल्याइएको हो । त्यहाँबाट एकदेखि पाँच लाखमा गाडी किनेर ल्याई यहाँ दश लाखदेखि करोडौंमा बेचिएको छ। घरजग्गा, गाडी र सेयरको मूल्य दलालीले बढाएका हुन् । छ दशकअघि उपत्यकामै जग्गा रोपनीको सय रुपैयाँमा समेत बिक्री हुदैँन्थ्यो।

एक रोपनीमा १६ आना जग्गा हुन्छ। दशकौंअघि सय रुपैयाँ रोपनीमा नबिक्ने जग्गा पाँच वर्षअघिसम्म आनाकै लाखदेखि करोडौंमा बिक्री भयो। किनकि दलालीहरुले त्यसमा डोजर चलाए। अहिले फेरि जग्गाको मूल्य घटिरहेको छ। यसमा व्यापक मन्दी छ । जसका कारण घरजग्गामा व्यक्ति, बैंक वित्तिय संस्थाले गरेको लगानी डुब्ने देखिन्छ।

त्यसो त बैंक, वित्तिय संस्थाका कारण करोडौं सर्वसाधारण सुकुम्बासी भएका छन्। त्यो ऋणी मात्रै नभई बचतकर्ता पनि हुन्। यसको मुख्य योजनाकार चाँहि सरकार हो। किनकि बैंक, वित्तिय संस्था खोल्न सरकारले स्वीकृति लिएको हो। राष्ट्र बैंक र अर्थ मन्त्रालयले बैंक, लघुवित्त र फाइनान्सलाई लाइसेन्स दियो। सहकारी मन्त्रालय र सहकारी विभागले सहकारी खोल्न अनुमति दियो।

लाइसेन्स दिएपछि नियमन पनि गर्नुपथ्र्यो । तर, लाइसेन्स दिएपछि आफ्नो कर्तव्य पूरा भएको सोच्ने सरकारी प्रवृत्तिले करोडौं सर्वसाधारण पीडित बन्नुपरेको छ। घरैपिच्छे बैंक वित्तिय संस्थाबाट पीडित भएका भेटिन्छन्।

कसैको बचत खाइएको छ त कसैको धितो। विडम्बना, जनता ठग्नेहरुलाई सरकार कारबाही गर्दैन। त्यसैले, जनता सचेत हौं। बैंकमा बचत गर्नु वा कर्जा लिनुपूर्व राम्ररी सोचौं । सस्तोमा पाइयो भन्दैमा बैंकले लिलाम गरेको धितो नकिनौं।