चलाखी देखाउन खोज्दा पहिलो कदममै चिप्लिए शिक्षामन्त्री

काठमाडौं । आन्दोनलरत शिक्षकसँग वार्ता गर्ने शिक्षामन्त्री रघुजी पन्तको पहिलो प्रयास असफल भएको छ।मन्त्रालयले शिक्षकहरूसँग संवाद गरी समाधान खोज्न तत्पर रहेको जनाउँदै वार्ताका लागि शुक्रबार नेपाल शिक्षक महासंघलाई औपचारिक आह्वान गरेको थियो। त्यसपछि शिक्षकहरू वार्ताका लागि मन्त्रालय पुगेका थिए । तर, मन्त्रालयले सरकारसँग वार्ता गर्नको लागि २५ जना शिक्षकको नाम पठाएपछि वार्ता भाँडिएको छ ।

मन्त्रालयबाट नै वार्तामा सहभागी हुने शिक्षक नेताहरूको नाम सिंहदरबार प्रवेशद्वारमा पठाएपछि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आपत्ति जनाउँदै बैठक बहिस्कार गरेको हो।

महासंघ आफूले छानेको शिक्षक नभई मन्त्रालयबाटै तोकेर नाम गेटमा आएको जानकारी पाएपछि गेटबाटै फर्किएको हो । वार्ता टोलीको लिस्टमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी सहअध्यक्ष नानीमाया पराजुलीलगायत २५ जनाको नाम रहेको थियो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको बताए । उनले उक्त कारण मन्त्रालयले एकतर्फी रूपमा वार्ता टोली गठन गर्नु रहेको बताएका छन् । महासंघले उक्त नामावली आफूहरूले तयार नगरेको भन्दै आपत्ति जनाएको छ।

यता, शिक्षामन्त्री पन्तले शिक्षकहरूबाटै प्राप्त नामका आधारमा प्रतिनिधि बोलाइएको दाबी गर्दै आपत्ति भए महासंघलाई आधिकारिक वार्ता टोली गठन गर्न आग्रह गरेका छन् । उनले महासंघले बनाएको टोलीसँग वार्ता गरी समस्या समाधान गर्न तयार रहेको बताए ।

विद्यालय शिक्षा ऐन सहमतिअनुसार जारी हुनुपर्ने माग राख्दै शिक्षक महासंघ निरन्तर आन्दोलनमा छ । शुक्रबार २४औँ दिन पनि उनीहरूले बिजुलीबजार क्षेत्रमा आन्दोलन गरेका थिए ।

बिहीबार मात्रै सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग पूरा गरी पठनपाठनको वातावरण बनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो।