सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्ष विहीन

काठमाडौं। सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सकिएको छ। सिंहदरबारस्थितशिक्षा मन्त्रालयमा शनिबार बिहान भएको वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको हो।

वार्तामा सहभागी नेपाल शिक्षक महासंघका प्रतिनिधिले आफ्ना सबै माग पूरा हुनुपर्ने अडान सरकारसँग राखेपछि निष्कर्ष ननिस्किएको बताइएको छ।

वार्ता गरी निस्कने क्रममा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आजको वार्ता सफल भएको र वार्तालाई निरन्तरता दिने निर्णय भएको प्रतिक्रिया दिए। तर अर्को वार्ताको समय टुंगो लागिनसकेको उनले बताए। वार्तासँगै आन्दोलन पनि जारी राख्ने उनले बताएका छन्।

शिक्षामन्त्री रघुजी पन्तले बोलाएपछि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधि शनिबार बिहान साढे ७ बजे वार्ताका लागि सिंहदरबार पुगेका थिए। सरकारको तर्फबाट नवनियुक्त शिक्षामन्त्री पन्त र शिक्षासचिव दिपक काफ्ले तथा महासंघको तर्फबाट अध्यक्ष सुवेदीको नेतृत्वमा आन्दोलनरत शिक्षक सहभागी थिए।

शिक्षकहरूले काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको शनिबार २५ दिन पुगेको छ। सरकारले माग सम्बोधनका लागि भन्दै वार्तामा बोलाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन ।

यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न सरकारका नाममा आदेश दिएको थियो।