लाज पचेको सकारले शिक्षकहरूलाई अपमानित गरिरहेको छ: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शिक्षकहरूको माग बेवास्ता गर्दै उनीहरूलाई अपमानित गरिरहेको आरोप लगाएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण कार्यक्रममा उनले सरकारले शिक्षकमाथि गरिरहेको व्यवहार लाजमर्दो रहेको टिप्पणी गरे।

उनले भने,लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर सरकार लागेको छ। शिक्षकहरूसँग भएका सहमतिअनुसार ऐन तुरुन्त ल्याउनुपर्छ। छोटो बाटोबाट समाधान खोज्नुपर्छ।’

प्रचण्डले अदालतले समेत शिक्षकको पक्षमा आदेश दिइसकेको भए पनि सरकारले त्यसलाई कार्यान्वयन गर्न उदासीन देखिएको बताए । साथै उनले शिक्षालाई सामान्य अवस्थामा फर्काउन सरकार गम्भीर नभएको आरोपसमेत लगाए। शिक्षकहरू विद्यालय फर्काउने वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने विषयमा प्रचण्डले जोड गरे।

उनले संसद्, सडक र अन्य राजनीतिक मोर्चाबाट देशको विषम परिस्थिति हल गर्न आफूहरू तयार रहेको स्पष्ट पार्दै शिक्षकहरूको माग सम्बोधनका लागि दबाब सिर्जना गरिने चेतावनीसमेत दिए।