चुनौतीकाबीच स्टुआर्टका ‘सुनौला सपना’
काठमाडौं । नेपाली क्रिकेटले नयाँ आशा र उत्साह बोकेर नयाँ अध्याय सुरु गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ प्रशिक्षक स्टुआर्ट लले नियुक्तिको एक महिनापछि जिम्मेवारी सम्हालेसँगै नेपाली क्रिकेटमा सुधारको ठुलो अपेक्षा गरिएको छ।
शुक्रवार राति नेपाल आइपुगेका लले शनिवारदेखि मुलपानीमा सुरु भएको ‘कोर क्याम्प’ मार्फत आफ्नो यात्रा सुरु गरेका छन् । उनको आगमनले नेपालले सन् २०२६ को आइसिसी टी-२० विश्वकपमा स्थान बनाउने र एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) स्टाटस जोगाउने लक्ष्यमा नयाँ गति प्रदान गर्ने विश्वास गरिएको छ ।
नेपालमा पहिलोपटक पाइला टेकेका लले नेपाली क्रिकेटको संस्कृति र यहाँका मानिसहरूको खेलप्रतिको लगावले आफूलाई सधैँ आकर्षित गरेको बताए। नेपालको क्रिकेट संस्कृति र यहाँको उत्साह मलाई सधैँ मन पर्छ । यो मेरो लागि नयाँ अनुभव हो, तर म यहाँको टोलीलाई बलियो बनाउन शतप्रतिशत दिनेछु,उनले भने ।
लले ५३ खेलाडीको कोर क्याम्पबाट बलियो टोली निर्माण गर्ने योजना बनाएका छन् । चार टोलीबिचको खेलमार्फत खेलाडीहरूको क्षमता, शारीरिक र मानसिक तयारी, र खेल कौशलको मूल्याङ्कन गर्ने उनको रणनीति छ । यो क्याम्पले खेलाडीहरूको हरेक पक्षलाई नियाल्न सजिलो बनाउनेछ ।
विश्वकपको सपना र चुनौती
लको पहिलो र सबैभन्दा ठुलो लक्ष्य हो सन् २०२६ को आइसिसी टी-२० विश्वकपमा नेपाललाई छनोट गराउनु । तर, यो यात्रा सहज छैन । उनले आगामी छनोट प्रतियोगिता चुनौतीपूर्ण हुने उनले स्वीकार गरेका छन् ।
छनोट प्रतियोगितामा कुनै एक महत्त्वपूर्ण खेल हार्दा हाम्रो यात्रा सकिन सक्छ । हामी त्यसका लागि तयार हुनुपर्छ,’ उनले भने । नेपालले हालैका वर्षहरूमा अन्तर्राष्ट्रिय क्रिकेटमा उल्लेखनीय प्रगति गरेको छ, तर ओडीआई स्टाटस जोगाउन र विश्वकपमा स्थान बनाउन अझै धेरै मेहनत आवश्यक छ । लले यो जिम्मेवारीलाई ठुलो अवसर र चुनौतीका रूपमा लिएका छन् ।
अनुभवी प्रशिक्षक
अस्ट्रेलियाका पूर्वखेलाडी लसँग अन्तर्राष्ट्रिय क्रिकेटको समृद्ध अनुभव छ । सन् १९९४ देखि १९९९ सम्म अस्ट्रेलियाका लागि एक टेस्ट र ५४ एकदिवसीय खेल खेलेका उनीसँग प्रशिक्षकका रूपमा पनि लामो र प्रभावशाली इतिहास छ।
उनले सन् २०११ मा श्रीलङ्का, २०१२ मा बङ्गलादेश, २०१८९१९ मा वेस्ट इन्डिज, २०२२ मा अफगानिस्तान, र गत वर्ष अमेरिकाको प्रशिक्षकका रूपमा काम गरेका थिए । साथै, उनले बङ्गलादेशको यू-१९ टोलीलाई पनि दुई वर्षसम्म प्रशिक्षण दिए।
नेपालप्रति उनको रुचि गत वर्ष अमेरिकाको प्रशिक्षक रहँदा बढेको थियो । ‘मैले नेपालको क्रिकेटबारे धेरै सुनेको थिएँ । त्यसपछि मैले यहाँको प्रशिक्षकका लागि आवेदन दिएँ,’ उनले भने। उनको यो अनुभव र नेपाली क्रिकेटप्रतिको रुचिले उनलाई यहाँको टोलीसँग जोड्ने अवसर बनाएको छ।
नेपाली क्रिकेटको भविष्य
लको आगमनले नेपाली क्रिकेटमा नयाँ आशा जागेको छ । उनको अनुभव, रणनीति, र खेलाडीहरूको क्षमता विकासमा केन्द्रित दृष्टिकोणले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा थप बलियो बनाउने अपेक्षा छ । तर, उनले सामना गर्नुपर्ने चुनौतीहरू कम छैनन् । खेलाडीहरूको नियमित प्रदर्शन, छनोट प्रतियोगिताको दबाब, र सीमित स्रोतसाधनका बिच टोलीलाई विश्वस्तरीय बनाउनु उनको लागि ठुलो परीक्षा हुनेछ।
नेपाली क्रिकेटप्रेमीहरूले लको नेतृत्वमा टोलीले नयाँ उचाइ छुने विश्वास लिएका छन्। उनको पहिलो कदम कोर क्याम्प र खेलाडी छनोट रहको छ । लले नेपाली क्रिकेटको भविष्यको आधार तय गर्नेछ। विश्वकपको सपना र ओडीआई स्टाटसको रक्षा गर्ने यात्रामा स्टुआर्ट लको अनुभव र उत्साह नेपाली क्रिकेटको हतियार बन्न सक्छ।