कोर क्यापमा नेपाल यल्लो र नेपाल रेडको जीत
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपाल यल्लोले कोर क्याप क्रिकेट प्रतियोगितामा नेपाल ग्रिनलाई १७ रनले पराजित गर्दै सानदार जीत निकालेको छ।
शनिवार तल्लो मूलपानी मैदानमा भएको खेलमा यल्लोले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा आशिफ शेखको कप्तानीमा रहेको ग्रिन ४३.२ ओभरमा १७९ रनमै समेटिएको हो ।
ग्रिनका दिलिप नाथले सर्वाधिक ३९ रन बनाए भने अर्जुन कुमालले ३० रनको योगदान दिए । यल्लोका कमलसिंह ऐरीले सर्वाधिक तीन विकेट लिए । रूपेशकुमार सिंह, ललितनारायण राजवंशी र कप्तान दीपेन्द्रले दुई/दुई विकेट हात पारे ।
पहिले ब्याटिङ गर्दै यल्लोले ४६ ओभरमा सबै विकेट गुमाउँदै १९६ रन बनाएको थियो। रूपेशले ५७ र कुशल भुर्तेलले ४४ रन बनाए। ग्रिनका सन्तोषकुमार यादव र सागर ढकालले तीन/तीन विकेट लिए ।
त्यसैगरी, भीम सार्कीको सानदार शतकसहित नेपाल रेडले नेपाल ब्ल्युमाथि १९९ रनको फराकिलो जीत हासिल गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको रेडले रोहितकुमार पौडेलको ब्ल्युलाई ३४८ रनको लक्ष्य दिएको थियो । जवाफमा ब्ल्यु ३१.१ ओभरमै १४८ रनमा समेटियो ।
ब्ल्युसँग कुशल मल्लले सर्वाधिक २६ रन बनाए । रेडका शाहब आलम र प्रतीश जिसीले समान तीन/तीन विकेट हात पार्दा सन्दीप लामिछानेले दुई विकेट लिए ।
यसअघि रेडले ५० ओभरमा पाँच विकेट गुमाउँदै ३४७ रन बनाएको थियो । भीम सार्कीले १२६ रन, शुभ कांसाकारले ७३ रन र आरिफ शेखले ५३ रनको योगदान दिएका थिए।