ललितपुर सिटी एफसी दोस्रो पटक एनएसएल च्याम्पियन
काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा पनि आफ्नो वर्चस्व कायम राख्दै उपाधि जितेको छ। शनिवार दशरथ रङ्गशालामा भएको रोमाञ्चक फाइनलमा ललितपुरले पोखरा थण्डर्सलाई २-१ ले पराजित गर्दै अपराजित रहँदै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो ।
खेलको पहिलो हाफ सुस्त गतिमा अघि बढेको थियो। तर, ४२औँ मिनेटमा ललितपुरका विदेशी स्ट्राइकर इमोह इजेकेलले गोल गर्दै टिमलाई अग्रता दिलाए । मनोज राईको क्रसमा इमोहले हेड मार्फत गरेको गोलले ललितपुरलाई पहिलो हाफको अन्त्यतिर १-० को अग्रता दिलायो । यो सिजन इमोहको तेस्रो गोल थियो। उनले यसअघि लिग चरणमा पनि पोखरा थण्डर्सविरुद्ध गोल गरेका थिए ।
दोस्रो हाफमा पोखराले आक्रामक खेल प्रस्तुत गर्दै ६३औँ मिनेटमा बराबरी गोल फर्कायो। पदम भट्टराईको क्रसलाई स्टेफेन समिर विनोङले हेडमार्फत गोल प्रयास गरे, जुन ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले रोक्न सफल भएनन्। बल फितलो क्लियर हुँदा सुदिल राईले नजिकैबाट गोल गर्दै खेललाई १-१ मा ल्याए ।
तर, खेलमा फर्कन लागेका पोखराका आशामा ७४औँ मिनेटमा पापा इबोउ केबेले पानी छर्किए। इमोह इजेकेलले बक्स बाहिरबाट दिएको सशक्त पासलाई केबेले सानदार फिनिस गर्दै ललितपुरलाई फेरि अग्रता दिलाए । पोखराका डिफेन्डरहरुको गल्तीलाई लाभ उठाउँदै ललितपुरले दोस्रो गोल जोड्न सफल भयो।
खेलको बाँकी समय पोखराले बराबरी गोलको प्रयास गरेपनि ललितपुरको सुदृढ रक्षापंक्तिले उनीहरूको योजना विफल बनायो । यससँगै ललितपुरले तेस्रो संस्करणमा अपराजित यात्रा कायम राख्दै उपाधि जित्यो । दोस्रो सिजनको अन्तिम तीन खेलमा अपराजित रहेको ललितपुर यस सिजन आठ वटै खेलमा अपराजित रह्यो, र कुल अपराजित खेलको सङ्ख्या ११ पुर्यायो ।
विजेता बनेको ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता पोखराले ३० लाख रुपैयाँमा चित्त बुझाउनु परेको छ ।
यस ऐतिहासिक सफलतामा कप्तान अनन्त तामाङ, सनिश श्रेष्ठ, आदित्य शाक्य तथा विदेशी खेलाडीहरु जेफ्री बाल्टुस, इमोह इजेकेल र पापा इबोउ केबेले महत्वपूर्ण भूमिका खेले । विशेषगरी इमोह र केबेको आक्रामक खेल प्रदर्शनले ललितपुरलाई फाइनलमा विजय दिलाउन निर्णायक साबित भयो ।
यससँगै ललितपुर सिटी एफसी एनएसएलको इतिहासमा उपाधि रक्षा गर्ने पहिलो क्लब बनेको छ र नेपाली क्लब फुटबलमा आफ्नो नाम चम्काउन सफल भएको छ।