स्थानीय तहहरूलाई शिक्षक महासंघले भन्यो-‘धम्की नदिनू’
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनरत शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई आग्रह गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर काठमाडौ केन्द्रित सडक आन्दोलनमा होमिएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य नगर्न भनेको हो।
२०८१ माघ २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा प्रदर्शन गरिरहेको छ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यले गरिएको यो आन्दोलन अन्तिम र निर्णायक आन्दोलन भएको दाबी शिक्षक महासंघले गरेको छ।
त्यसैले यो आन्दोलनलाई अझ सशक्त बनाउन उसले देशभरका सबै शिक्षक–कर्मचारीलाई काठमाडौँ आउन पनि आह्वान गरेको छ । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियानसहित सामुदायीक विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ ।