शिक्षक र प्रहरीबीच झडप,केही शिक्षक घाइते
काठमाडौं। आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।
शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा तनाव बढेको हो । आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो।
अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ । प्रहरीले शिक्षकहरुमाथि पानीको फोहोरा हानेर भिड तितरवितर पारेको छ।
शिक्षककाे प्रदर्शनमा घुसपैठ भएको दाबी गरिएकाे छ। आन्दोलनमा घुसपैठ भएको हो । एउटा समूह घेरा तोड्न खोज्यो। त्यसपछि झडप भएको हो। पानीको फोहोरा प्रहार भयो । झडपमा केही शिक्षक घाइते भएको बताइएकाे छ।
शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि निरन्तर काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन्। यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।
सरकारी शिक्षकहरुको आन्दोलन निरन्तर जारी भएकाले नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित भएको छ। वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ ।