अश्रुग्यास प्रहारपछि आवेगमा आए: रविन्द्र मिश्र

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अश्रुग्यास प्रहारपछि आफू आवेगमा आएको स्वीकार गरेका छन्। आइतबार काठमाडौं जिल्ला अदालतमा बयान दिँदै मिश्रले १५ चैतको तीनकुने प्रदर्शनका क्रममा अश्रुग्यास लागेपछि आफू सामान्य अवस्थामा नरहेको बताएका हुन्।

उनले भने,मेरो आँखै र नाकअगाडि अश्रुग्यास पड्किएपछि आँशु झार्दै नवराजजीलाई बचाएँ । त्यसपछि म स्वाभाविक रूपमा अलिकति आवेगमा आएको हुँ।

तीनकुनेमा राजावादी समूहको प्रदर्शनपछि प्रहरीले मिश्रलाई राति पक्राउ गरेको थियो । त्यसयता उनी काठमाडौं जिल्ला प्रहरी परिसरमा हिरासतमा छन्।

अदालतमा मिश्रले विरोध प्रदर्शनका क्रममा नागरिकलाई अघि बढ्न भनेको आधारमा आफूलाई एक महिना हिरासतमा राखिएको बताए । उनले भने, जति समय हिरासतमा राखिन्छ, राज्य झन् खलनायक बन्दै जान्छ।

मिश्रले आन्दोलनका क्रममा आफूले हिंसा उक्साउने खालका कुनै अभिव्यक्ति नदिएको स्पष्ट पारे। के मैले प्रहरी घेरा तोड्न भनेको थिएँ ? संसद् जलाऔँ भनेको थिएँ? ढुंगा हान भनको थिएँ ?भन्दै उनले न्यायाधीशसमक्ष प्रश्न उठाए।

उनले आमाको मुख हेर्ने दिनमा आमालाई भेट्न रिहा हुन चाहेको आग्रह गरे । तर सरकारी वकिलले मिश्रको अनुसन्धान नसकिएको भन्दै थप २० दिन हिरासतमा राख्न अनुमति दिन अदालतमा माग गरेका छन् । यसअघि अदालतले तीन दिन म्याद थप गरेको थियो ।