पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा चालकसहित दुईजना घाइते भएका छन्।
असारेबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु३च २३५७ नम्बरको जिप आइतबार राति करिब साढे १० बजेतिर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–१ असारेका २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहेको प्रहरीले जनाएको छ।
उनीहरुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए।
दुर्घटनामा २७ वर्षीय जिप चालक रञ्जन रेस्मी र २२ वर्षीय सरोज बुढा घाइते छन् । उनीहरुको मिसन अस्पताल पाल्पामा उपचार जारी छ।