शिक्षकहरुको असली रुप देखिँदै,अझै काठमाडौं प्रशासन र स्थानीय सरकार मौन बस्ने कि कदम पनि चाल्ने ?

सर्वसाधारण जनता स्थानीय सरकारलाई सोध्छन्, ‘आन्दोलनरत शिक्षकहरुलाई किन कारबाही नगरेको ? किन जागिरबाट नहटाएको ?’ जनताले तिरेको करबाट तलभत्ता खाएर शिक्षक शिक्षिकाहरु विद्यार्थी नपढाई आन्दोलनमा होमिएका छन् । विद्यालय बन्द गरेर सडकमा रमिता देखाइरहेका छन् ।

यतिमात्र होइन, शिक्षकहरु उग्र बन्दै गएका छन् । सडक कब्जा गरेर सुरक्षाकर्मीलाई ढुंगामुढा हानिरहेका छन् । जनताको छोराछोरीको भविष्यमाथि खेलबाड गरी आफ्नो स्वार्थ पुरा गर्नका निम्ति शिक्षकहरु आन्दोलनमा उत्रिएको झण्डै एक महिना हुन लागिसक्यो । यस अवधिमा विद्यालयमा पठनपाठन भएको छैन ।

विद्यार्थीहरु अन्यौलमा परेका छन् । देशभरका सरकारी तथा सामुदायिक विद्यालय बन्द छन् । विद्यालय बन्द भएपछि आफ्नो छोराछोरी कहाँ पढाउने भनेर अभिभावकहरु चिन्तित छन् । अर्को कुरा विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा होमिएपनि तलबभत्ता चाँहि बुझिरहेका छन्। हाजिरी कपी चोरेर ल्याएर सडकमै हाजिर गरिरहेका छन् ।

अनि स्थानीय सरकार के हेरेर बसिरहेको छ ? शिक्षकहरुले कानूनविपरीत गतिविधि गर्दा स्थानीय तहहरु किन मौन ? किन तत्काल त्यस्ता शिक्षकलाई बर्खास्त गरेर नयाँ शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाइएन ? सरकारी विद्यालयको शैक्षिक अवस्था कस्तो छ ? हामी सबैलाई थाहै छ । दिनप्रति दिन सरकारी विद्यालय खस्किँदै गएको छ ।

त्यसमाथि शिक्षकहरु पढाउन छोडेर आन्दोलनमा उत्रिँदा अहिले सम्पूर्ण विद्यार्थी निजीतर्फ गएका छन् । निजीमा धमाधम विद्यार्थी भर्ना भइरहेका छन् भने सरकारी विद्यालयका शिक्षकहरु सडकमा रमिता देखाइरहेका छन् । त्यसकारण अब स्थानीय सरकारले कदम चाल्नुपर्छ । जनताको छोराछोरी पढाउन छोडेर आन्दोलनमा होमिने शिक्षकहरुलाई कारबाही गर्नुपर्छ ।

शिक्षामन्त्री रघुजी पन्तले अब शिक्षकहरुसँग वार्ता गर्ने होइन । यस्ता शिक्षकहरुको नियुक्ति पत्र खारेज गरेर नयाँ शिक्षक नियुक्ति प्रक्रिया अघि बढाउनुपर्छ । सरकार अब शिक्षकसामु झुक्ने होइन, पेलेर अघि बढ्ने हो ।

पछिल्लो समय राजधानी अशान्त छ । शिक्षकहरुको आन्दोलन अराजक बन्दै गएको छ । शुरुवातमा शान्तिपूर्ण आन्दोलनको नौंटकी देखाएका शिक्षकहरु अहिले ढुंगामुढामा उत्रिएका छन् । आन्दोलन शुरु गर्दा शिक्षकहरुले भनेका थिए, ‘हामी आफ्नो फोहोर आफैं सफा गछौं । बिरुवासमेत मार्न दिँदैनौं । सुरक्षाकर्मीलाई केही गर्दैनौं ।

शिक्षकहरुको आन्दोलन कति शान्तिपूर्ण रहेछ ? अहिले प्रष्टै भएको छ । बिरुवासमेत नमार्ने दाबी गरेका शिक्षकहरुले आइतबार फुटपाथको ब्लकसमेत निकालेर सुरक्षाकर्मीमाथि प्रहार गरे । अर्को कुरा, आन्दोलन चाँहि शिक्षकको, आँखा फुट्यो पत्रकारको ।

पत्रकारहरुले शिक्षकहरुको माग सम्बोधन गर्नुपर्छ भनेर बोल्दै, लेख्दै आएका छन् । शिक्षक आन्दोलनको समर्थन गर्दाको परिमाण अहिले हामी सबैले देखेका छौं । शुरुवातमा शिक्षकहरु पत्रकार र सुरक्षाकर्मीसँग मिले । हाँस्दै गफ गरे । प्रहरीले पनि शिक्षकहरु अरु आन्दोलनकारी जस्तो हुन्न भनेर सोच्यो । जसले गर्दा शिक्षकहरु यो हदसम्म आइपुगेका छन् ।

आन्दोलनकारी प्रहरीको शत्रु बराबर हो । आन्दोलनकारीले कुन र कति बेला के गर्न सक्छन् ? कसैलाई थाहा हुँदैन । तर, सुरक्षाकर्मीहरुले आन्दोलनरत शिक्षकहरुलाई साथीको रुपमा हेर्यो । शिक्षकहरुले सडक कब्जा गर्दा शुरुवातमै बल प्रयोग गरेर हटाउनुको साटो उल्टै सडक बन्द गरिदिए उनीहरुलाई सहयोग गर्यो ।

शिक्षकहरुको रबैया ठ्याक्कै माओवादीसँग मिल्दोजुल्दो छ । जनयुद्धकालमा माओवादीले शत्रुलाई साथी बनाउन्थ्यो । अनि थाहै नदिई उसलाई माथ्र्यो । शिक्षकहरुले पनि त्यस्तै गरे । पहिला सुरक्षाकर्मीलाई साथी बनाए । पछि त्यही सुरक्षाकर्मीमाथि ढुंगा हाने । अब शिक्षकहरु माओवादी होइनन् भन्नेमा कुनै शंका देखिँदैन ।

यता, काठमाडौंका सिडियो ऋषिराम तिवारीले तत्काल राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ । शिक्षकहरुले आइतबार त्यत्रो आतंक मच्याउँदासमेत उनले माइतीघर–नयाँ बानेश्वर क्षेत्रलाई निषेधित घोषणा गरेका छैनन् । उनकै लापरबाहीका कारण पनि शिक्षक आन्दोलन उग्र बनेको छ । यदि सिडियो तिवारीले पहिल्यै शिक्षकहरुलाई सडकमा कब्जा गर्न रोक लगाएर खाली चौरमा गर्न लगाएको भए यस्तो घटना हुने थिएन ।

तर, आन्दोलनलाई ख्यालठट्टाको रुपमा लिँदा निर्दोष व्यक्तिको आँखा गुमाउनुपर्ने अवस्था आएको छ । शिक्षक आन्दोलनमा घाइते भएकी पत्रकार सविना कार्कीको अब कसले जिम्मेवारी लिन्छ ? शिक्षकहरुले वा काठमाडौं प्रशासनले ? उनको आँखा पहिल्यै अवस्थामा ल्याउन सक्छन्, शिक्षकहरुले ? अझै पनि स्थानीय तह र काठमाडौं प्रशासन मौन बस्ने कि तत्काल कदम चाल्ने ?

कि ठूलो क्षतिको लागि हेरेर बसिरहेको हो, काठमाडौं प्रशासन ? आन्दोलनमा उत्रिएका शिक्षकहरु माओवादीनिकट हुन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी माओवादी कार्यकर्ता हुन् । प्रचण्डको निर्देशनअनुरुप उनले आन्दोलन गरिरहेका छन् । फेरि माओवादी कुन हदसम्म जान सक्छन् ? भन्ने कुरामा पत्रकार र सुरक्षाकर्मी चलाख हुन आवश्यक थियो ।

माओवादी लुट्न र मार्न नै ज्यान हुन्छन् । जनयुद्धको समयमा माओवादीले न पत्रकार भनेर छोडिदियो न सुरक्षाकर्मी भनेर । उल्टै उनीहरुलाई निशाना बनाइयो । आफैँ आफ्नो लागि खाल्टो खन्न लगाएर पुरिदियो । भनिन्छ, ‘सर्पलाई जतिसुकै दुध खुवाएपनि त्यो सर्पले पछि दुध खुवाउनेलाई नै टोकेर मार्छ ।’ माओवादी पनि त्यही नै हो ।

माओवादीले आफ्नालाई समेत छोडँदैन । अनि शत्रुलाई छोड्नु त परको कुरा हो । अहिले शिक्षकका लागि सुरक्षाकर्मी शत्रु बनिसकेका छन् । अब शिक्षकहरुले सुरक्षाकर्मीको ज्यानै लिनसमेत समय लगाउने छैनन् । त्यसैले, सुरक्षाकर्मी चलाख र सचेत हुन आवश्यक छ । राजावादी आन्दोलन तुहाउन प्रचण्डले शिक्षकहरुलाई सडकमा उतारे ।

फागुल्न २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहको स्वागतमा लाखौं सर्वसाधारणको उपस्थिति देखेपछि प्रचण्ड त्रसित भए । तराई–मधेश अभियानमा रहेका उनी त्यो स्थगित गरेर काठमाडौं फर्किए । अनि शुरु गरे राजावादीलाई कमजोर बनाउने योजना । चैत १५ गते आफ्नो कार्यकर्तामार्फत राजावादीको आन्दोलनलाई उग्र बनाइदिए ।

अनि दोष चाँहि राजावादीलाई थुपारिदिए । स्मरण रहोस् माओवादीले जनयुद्धको समयमा १७ हजार बढी जनता मारेको थियो । तर, त्यसले नपुगेर अझै पनि जनता मान्छे रणनीतिमा छ, माओवादी । एकातिर गणतन्त्रवादीसँग बसेर राजतन्त्रको विरोधमा लगाउने, अर्कोतिर शिक्षकहरुलाई सडकमा उतार्ने । त्यही शिक्षकमार्फत सत्तामा पुग्ने प्रचण्डको दाउ छ ।

उनले शिक्षकहरुलाई सडकमा मात्र उतारेनन्, विद्यार्थीको भविष्य बर्बाद पारिदिने काम गरिदिएका छन् । लाखौं बालबालिकाको भविष्य अन्यौलमा परेको छ । गरिब जनताका छोराछोरी शिक्षाबाट वञ्चित हुनुपरेको छ । प्रचण्डले आफ्नो स्वार्थका निम्ति फेरि पनि जनतालाई नै प्रयोग गरेका छन् । जनताका छोराछोरीको भविष्य अन्धकारमा पारिदिएका छन् ।

जनता मारेर सफल बनाएको जनयुद्धको उपलब्धि हामी सबैसामु छ । जनयुद्धले जनतालाई केही दिएन । माओवादी, प्रचण्ड र उनको परिवारलाई मात्रै दियो। हिजो चप्पल लगाउन नसक्ने हैसियत भएका प्रचण्ड अहिले घडी मात्रै लाखौंको बाँध्छन् । उनले लगाउने कपडा, जुत्ता, चस्मा पनि लाखौंको छ।

अनि यो पैसा कहाँबाट आयो ? पटकपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचार गरेर होइन र ? आफ्ना नजिकका मान्छेलाई पटकपटक मन्त्री बनाए। छोरीलाई स्वकीय सचिवदेखि मेयरसम्म बनाए । बुहारीलाई मन्त्री बनाए । अनि जनताले चाँहि के पाए त ?

प्रचण्ड जनयुद्धकै कारण मुलुकमा लोकतन्त्र गणतन्त्र आएको दाबी गर्छन् । अहिले जनता उनलाई सोध्छन्, ‘लोकतन्त्र गणतन्त्रले के भयो ? तर, भारत र चीनले कब्जा गरेको नेपाली भूभाग किन फिर्ता नल्याएको ? लोकतन्त्रअघि एक रुपैयाँ ऋण नरहेकोमा अहिले कसरी २७ खर्ब पुग्यो ?

किन नेपाली रोजगारीका लागि विदेशिरहनुपरेको छ । किन निर्माण व्यवसायीले ४५ अर्ब, दुध र उखु किसानले सात अर्ब र कोरोना महामारीको २४ अर्ब भुक्तानी दिन सकिएन ?

अब प्रचण्डले जवाफ दिनैपर्छ । जनयुद्धले देशमा के भयो ? जनतालाई जवाफ दिइयोस्। प्रचण्ड एक नम्बरका स्वार्थी व्यक्ति हुन्। हिजो पनि आफ्नो स्वार्थ पुरा गर्न जनता मारे, अहिले पनि त्यही गर्दैछन्। शिक्षकलाई उचाल्ने प्रचण्ड नै हुन्। त्यसकारण अब सरकारले प्रचण्डलाई कारबाही गर्नुपर्छ। शिक्षकहरु पनि कसैको पछि नलागौं। विद्यालय फर्कियौं। किनकि प्रचण्ड कसैको आफ्ना होइनन्।