प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा

काठमाडौं। नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। गृह मन्त्रालयको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छ डिआईजीको बढुवा गरेको हो ।

डिआइजीहरू चन्द्रकुबेर खापुङ,लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा। मनोज केसीलाई एआइजीमा बढुवा गरिएको हो।

गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको ४ वैशाखको बैठकले बढुवाका लागि बढुवा गर्न सिफारिस गरिएको थियो ।

विद्यमान कानुनी व्यवस्थाअनुसार ३० वर्षे सेवा अवधि कायम रहेमा आउने साउन १७ गते वर्तमान आईजी दीपक थापाको अवकाश हुन्छ।

यदि त्यस्तो भएमा उनकै व्याच, तर २ महिना ढिलो नियुक्तिपत्र पाएका चन्द्रकुवेर खापुङ वा कृष्णहरि शर्मा पोखरेलमध्ये एकजना ३२ औ आईजी बन्ने बाटो खुल्छ। जो हुन्छ, उनले कात्तिक २६ सम्म उक्त पद सम्हाल्ने छन्। त्यसपछि कार्की, अधिकारी र केसीमध्य एकजना ३३ औ आइजीपी नियुक्त हुनेछन्।