त्रि-चन्द्र क्याम्पसमा विद्यार्थी संघका अध्यक्ष शाहीद्वारा सुधारका प्रस्ताव पेश
काठमाडौं। नेपाल विद्यार्थी संघ, त्रि-चन्द्र बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसमा विद्यार्थीहरूको समग्र हित र क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न प्रस्तावहरू पेश गरेको छ। यो प्रस्ताव क्याम्पसको ऐतिहासिक महत्व र शैक्षिक उत्कृष्टतालाई मध्यनजर गर्दै विद्यार्थीहरूको शैक्षिक, भौतिक, व्यवसायिक र आर्थिक आवश्यकताहरूलाई सम्बोधन गर्न तयार पारिएको हो।
शैक्षिक सुधारका प्रस्तावहरू
नेपाल विद्यार्थी संघले शैक्षिक गुणस्तर सुधारका लागि विशेष जोड दिएको छ। प्रस्तावित सुधारहरूमा BCA, BSc CSIT र MSc को कोटा वृद्धि गर्नुपर्ने, विद्यार्थीहरूलाई मौसमी कर्मचारीबाट प्राध्यापनको व्यवस्था हटाउनुपर्ने र आन्तरिक परीक्षा प्रणालीलाई व्यवस्थित गर्नुपर्ने जस्ता महत्वपूर्ण माग समावेश छन्।
संघले पार्ट-टाइम शिक्षक नियुक्ति र नाइट शिफ्ट कक्षा निरन्तरता जस्ता प्रावधानहरूको पनि माग गरेको छ, जसले विद्यार्थीहरूको पढाइलाई थप सहज बनाउने विश्वास गरिएको छ। साथै, सबै विद्यार्थीहरूका लागि अनिवार्य स्वास्थ्य बीमा योजना र शैक्षिक कार्यक्रमहरूको निरन्तर मूल्यांकन गर्नुपर्ने प्रस्ताव पनि पेश गरिएको छ।
भौतिक पूर्वाधार सुधारका प्रस्तावहरू
क्याम्पसको भौतिक पूर्वाधारमा पनि उल्लेखनीय सुधारको आवश्यकता औंल्याइएको छ। महिला शौचालयको मर्मत र सुविधा वृद्धि, छात्र शौचालयहरूको नियमित मर्मत र सरसफाइ, पिउने पानीको उचित व्यवस्थापन र प्रयोगशालामा आवश्यक उपकरणहरूको आपूर्ति र कार्य व्यवस्थापन गर्नुपर्ने प्रस्तावहरू समावेश छन्।
विशेष गरी पुस्तकालयलाई डिजिटलाइज्ड बनाउने र थप अध्ययन सामग्रीहरूको व्यवस्था गर्नुपर्ने माग पनि महत्वपूर्ण रहेको छ। संघले “ओरेकल अफ डेल्फी” जस्तै विद्यार्थीहरूका लागि नियमित छलफल मञ्चको आयोजना गर्ने प्रस्ताव पनि गरेको छ।
क्याम्पस परिसर व्यवस्थापन र अन्य प्रस्तावहरू
क्याम्पस परिसरको हरितीकरण र सरसफाई, क्याम्पसमा डिजिटल परिचयपत्र प्रणालीको कार्यान्वयन र अग्नि सुरक्षा प्रणाली जडानका प्रस्तावहरू पनि पेश गरिएका छन्।
सामाजिक सुधारका क्रममा अनलाइन शिक्षण प्रणालीको कार्यान्वयन, सूचना अधिकारको कार्यान्वयन र थेसिस/परियोजना कार्यहरूमा शुल्कको पारदर्शिता सुनिश्चित गर्नुपर्ने विषयहरू समावेश गरिएका छन्।
आर्थिक सुधारका प्रस्तावहरू
आर्थिक पक्षमा पनि केही महत्वपूर्ण सुधारहरू प्रस्तावित गरिएका छन्, जसमा क्याम्पसको आय-व्ययको अध्ययन र सुझावहरू, विद्यार्थी कल्याणकारी कोषको पारदर्शी व्यवस्थापन, आर्थिक दुरुपयोग र योजनाबद्ध उपायहरू तथा शैक्षिक आय स्रोतको परिचालन सम्बन्धी प्रस्तावहरू रहेका छन्।
विद्यार्थी कल्याण र सहयोग
विद्यार्थीहरूको समग्र कल्याणका लागि काउन्सिलिङ सेवा र करियर मार्गदर्शन, टेलन्टहन्टिङ र जागिर खोजी सहयोग तथा छात्रवृत्ति र आर्थिक सहायता कार्यक्रमहरूको पनि माग गरिएको छ।
सहकार्य र सम्बन्ध विस्तार
संघले राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्य बढाउने, उद्योग र संस्थाहरूसँग साझेदारी गरी व्यावसायिक तालिमहरू सञ्चालन गर्ने र पूर्व विद्यार्थीहरूको सञ्जालको स्थापना गर्ने प्रस्तावहरू पनि पेश गरेको छ।
पारदर्शिता र व्यवस्थापन
क्याम्पसको वित्तीय पारदर्शिता, कार्यक्रमहरूको खर्च विवरणको सार्वजनिकीकरण र परीक्षा केन्द्रहमा विद्यार्थी प्रतिनिधिको उपस्थिति सुनिश्चित गर्ने जस्ता प्रशासनिक सुधारका प्रस्तावहरू पनि समावेश गरिएका छन्।
नेपाल विद्यार्थी संघका अध्यक्ष अमृत बहादुर शाहीले यी प्रस्तावहरू क्याम्पसको शैक्षिक गुणस्तर बढाउन र विद्यार्थीहरूको सर्वपक्षीय हित र समृद्धिको विकासका लागि महत्वपूर्ण रहेको बताएका छन्। उनले प्रशासन, शिक्षक, कर्मचारी र विद्यार्थीहरू बीचको अन्तरक्रिया र छलफलबाट नै यिनै प्रस्तावहरू क्याम्पसमा कार्यान्वयन गर्न सकिने विश्वास व्यक्त गरेका छन्।