अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान

काठमाडौं। नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनस्थलमा कुर्सी हानाहान भएको छ। राजधानीको कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनस्थलमा कुर्सी हानाहान भएको हो।

अखिल क्रान्तिकारीमा उमेर हद तोक्ने कि नतोक्ने भन्नेमा तीव्र विवाद हुँदै आएको छ। सोही विवाद सम्मेलनस्थलमा प्रकट भएको एक प्रतिनिधिले जानकारी दिए।

सम्मेलनको बन्दसत्रमा उमेर हदको पक्ष र विपक्षमा चर्को बहस भएको छ भने यस विषयमा हलले ठोस निर्णय लिन सकेको छैन।

केही प्रतिनिधिले उमेर हद लगाउन नहुने पक्षमा रहेका व्यक्तिहरूले बाहिरको मान्छे ल्याएर हुलदङ्गा गराएको आरोप समेत लगाएका छन्। हुलदङ्गा भएपनि प्रहरीले अवस्थालाई साम्य बनाएको बताइएको छ।

अखिल क्रान्तिकारीको सम्मेलनका क्रममा नेतृत्व चयन सहमतिमा गर्ने कि निर्वाचनमा जाने भन्नेमा समेत अन्योल छ। यही कारण निर्वाचन प्रक्रिया समेत अघि बढ्न सकेको छैन।