कोशी र बागमतीमा भारी वर्षा, ‘हाइअलर्ट’ रहन गृहमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको भन्दै ‘हाइअलर्ट’मा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

गृहमन्त्री रमेश लेखकले कोशी र बागमतीमा हिजोदेखि भारी वर्षा भइरहेको भन्दै बाढीपहिरोबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहलाई निर्देशन दिएका हुन् ।

उनले मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई समेत सावधानी अपनाउन आग्रह गरेका छन् ।

थप समन्यव र सो सम्बन्धी आवश्यक काम कारवाहीका लागि गृह मन्त्रालय सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरणलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

यसअघि १२ र १३ गते परेको अविरल वर्षाका कारण गएको बाढी र पहिरोबाट धेरै मानवीय तथा धनजनको क्षति भएको छ । मुलुकका धेरै राजमार्ग अवरुद्ध रहेका छन्।