दसैंभरि यी विमानस्थलमा हुने छन् २० घन्टा उडान

फाइल तस्वीर

काठमाडौं। यात्रुको चाप बढेपछि रात्रिकालीन उडान हुने विमानस्थलमा अब बिहान साढे ४ देखि रातको १२ बजेसम्म २० घन्टाभन्दा बढी उडान गर्न पाइने भएको छ।

बाढी-पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चाप हेरेर नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार असोज १७ (घटस्थापना) देखि असोज ३० (पूर्णिमा) सम्मका लागि यस्तो व्यवस्था गरेको हो।

यो व्यवस्था काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतमबुद्ध, पोखरा र रात्रिकालीन उडान हुने सबै विमानस्थलमा लागू हुने प्राधिकरणले जनाएको छ। आवश्यकताअनुसार उडान समय थप्न सकिने पनि प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ।