आजबाट बडा दशैँ शुरू, घरघरमा जमरा राखिँदै

काठमाडौं । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक घटस्थपना गर्ने साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ । ​

नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव जौ रोपिन्छ ।

यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी बताउँछन् । कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ । विधिपूर्वक घट अर्थात् घडा राखी त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने छ ।

दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ। दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । घटस्थापनाको अवसरमा काठमाडौंको हनुमानढोका दरबारसहित देशैभरका दशैँघरमा वैदिक विधिपूर्वक जमरा राखी विशेष पूजा गरिन्छ।