नेपाल कम्युनिस्ट पार्टी बाँकेको प्रथम जिल्ला भेला सम्पन्न, अटलको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन

बाँके। नेपाल कम्युनिस्ट पार्टी बाँकेको प्रथम जिल्ला भेला अटलको संयोजकत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ ।

भेलालाई कार्यक्रमका प्रमुख अतिथि एवं पार्टी प्रवक्ता अर्जुन, सचिवालय सदस्य विकल्प र केन्द्रीय सदस्य अटलले सम्बोधन गर्नुभएको थियो।

भेलालाई सम्बोधन गर्दै पार्टी प्रवक्ता अर्जुनले नेपाल कम्युनिस्ट पार्टी दक्षिणपन्थी नव संशोधनवादी, नव प्रतिक्रियावादी र बुर्जुवा संसदवादी प्रवृत्ति विरुद्ध मालेमावाद र राष्ट्रिय मुक्ति क्रान्तिको विचारले गरेको ऐतिहासिक विद्रोहको जगमा उभिएको स्पष्ट गर्नुभयो।

‘कमरेडहरु यो विद्रोह नेपालको कम्युनिस्ट आन्दोलनमा विद्यमान दक्षिणपन्थी नव संशोधनवादी, नव प्रतिक्रियावादी र बुर्जुवा संसदवादी प्रवृत्तिका विरुद्ध मालेमावाद र राष्ट्रिय मुक्ति क्रान्तिको विचारले गरेको ऐतिहासिक विद्रोहको जगमा उभिएको छ।

यसलाई केवल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र किरणसँगको विद्रोहको रुपमा मात्रै बुझ्नु विद्रोहको खिलाफमा हुन्छ । यसकारण हाम्रो विद्रोह नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा क्रमभङ्ग हो : विचार, संगठन र आन्दोलनमा क्रान्तिकारी छलाङ हो।

यो विद्रोह र पार्टी निर्माणका ३ वटा ऐतिहासिक कार्यभार रहेका छन। यसको पहिलो कार्यभार विचार संश्लेषणको प्रश्नसँग सम्बन्धित छ, यो विश्व दृष्टिकोणको सवाल हो । यसकारण यसले राष्ट्रिय मुक्ति क्रान्तिको विचारको संश्लेषण गरेको छ ।

यो नेपालको कम्युनिस्ट आन्दोलन र जनताको साझा अनुभव र ज्ञानको सघनिकरण हो । यसले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ चरणको प्रतिनिधित्व गर्दछ ।

दोस्रो, कम्युनिस्ट आन्दोलनको पुनर्गठनको सवाल हो ।

तेस्रो स्वाधीनता, समाजवाद र सर्वहारा अधिनायकवाद स्थापना गर्ने सवाल हो ।

त्यसैगरी भेलालाई सम्बोधन गर्दै पार्टी सचिवालय सदस्य क. विकल्पले युवाहरूलाई मालेमावाद र राष्ट्रिय मुक्ति क्रान्तिको विचारमा गोलबद्व हुन एवं स्वाधीनता, समाजवाद र सर्वहारा अधिनायकवादको झन्डालाई माथि उठाउन अपिल गर्दै भन्नुभयो ; ” युवा कमरेडहरु हाम्रो जीवन भनेको जनयुद्ध र क्रान्तिका हजारौं मोर्चाहरु लडेर यहाँसम्म आइपुगेको छ, यो जीवन हामीलाई कसैको निगाहबाट प्राप्त भएको होईन, बरु हाम्रो कठोर संघर्षको उपज हो ।

यसपटक यो विद्रोही जीवनलाई स्वाधीनता, समाजवाद र सर्वहारा अधिनायकवाद स्थापनाको निम्ति राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्षमा समर्पित गरौं, आउनुहोस हामी मिलेर नयाँ इतिहास रचना गरौं।” त्यसैगरी भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य अटलले नेपालको सर्वहारा वर्ग र उत्पीडित समुदायको मुक्तिका निम्ति पार्टीले ठोस गरेको राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्षको कार्यदिशामा एकताबद्ध भएर मुक्ति वा बलिदानका निम्ति तयार रहेको स्पष्ट गर्नुभयो । “कमरेडहरु हामी स्वाधीन र समाजवाद स्थापना गर्न पार्टीले निर्धारण गरेको बाटोमा दृढतापूर्वक अघि बढ्न प्रतिबद्ध छौं ।

सामान्यतया देशैभरी र मुख्यत: बाँके र बर्दिया जिल्लामा भएको चरम भ्रष्टाचार, कालोबजारी, घुसखोरी, तस्करी लगायत शिक्षा र स्वास्थमा दुबोझै मौलाउदै गएको निजीकरण, व्यापारीकरण र माफियाकरणका विरूद्द निर्मम संघर्ष सञ्चालन गर्न प्रतिबद्ध रहेको अटलले स्पष्ट गर्नुभएको थियो ।

यसैगरी भेलामा पार्टीका केन्द्रीय सदस्य कमरेड धर्तीले स्वागत मन्तव्य राख्नुभएको थियो भने मुस्लिम समुदायबाट कमरेड हाजीले र महिला संगठनको तर्फबाट कमरेड पम्फा शाहीले मन्तव्य राख्नु भएको थियो ।

भेलाको अध्यक्षता जेष्ठ सदस्य कमरेड बनकाठले र भेलाको सञ्चालन पार्टी केन्द्रीय सदस्य एवं युवा नेता कमरेड मोजले गर्नुभएको थियो ।